
बिहुँमा प्रदेश नम्बर ४ स्तरिय कराते प्रतियोगिता हुने भएको छ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोलाको आयोजना तथा बिहुँकोट सितोरियो कराते डोजोको प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागिएको शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा आगामी फागुन १ देखि ३ गतेसम्म ‘प्रदेश च्याम्पियसिप कराते प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ जिल्लामा मुस्ताङ र मनाङ बाहेकका ९ जिल्लाका २ सय ८० खेलाडी सहभागिता हुनेछन् ।
धेरै मेहनत र साहस गरेर प्रदेश स्तरिय प्रतियोगिता गाउँमै आयोजना गर्न लागिएको बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष तथा बिहुँकोट सितोरियो कराते डोजोका सञ्चालक प्रशिक्षक कृष्ण कँडेलले बताए । करातेका नियमित प्रतियोगिताहरु केन्द्र र जिल्ला स्तरमा पनि नभएकाले गाउँमै प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश प्रवाह गर्न लागिएको उनको भनाई छ ।
प्रतियोगितामा २५ देखि ६० केजी तौल समूहका महिला ८ र पुरुष ८ गरि १६ वटा र एकल तथा सामुहिक काँटाका ४ वटा प्रतिस्पर्धा गरि कुल २० इभेण्ट हुनेछ । जसमा २३ स्वर्ण, २३ रजत र ४६ कास्य पदक गरी कुल ९२ पदकका लागि खेलाडीहरु मैदान उत्रिनेछन् । बाहिरबाट आउने सबै खेलाडीहरुलाई खाना र बस्नको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३१ हजार भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
यो सबै खर्च हामीले स्थानीय स्तरबाटै संकलन गर्ने गरि अभियान शुरु गरेका प्रशिक्षक कंडेलले जानकारी दिनुभयो । उहनले जिल्ला र गाउँको पहिचान प्रतिष्ठा सँग जोडिएको प्रतियोगितालाई सफल पार्न सहयोग गर्न पनि सबैलाई आग्रह गरे । कार्यक्रम बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका सचिव सन्तोष पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।