२९ असार २०८२, आईतवार

 

सहकारीको अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन कोरिया जान लागेका जिसीलाई आदर्शका कर्मचारीको विदाई

दक्षिण कोरियाको राजधानी सिउलमा हुन लागेको दक्षिण कोरियाको कृषि सहकारी प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन कोरिया जान लाग्नु भएका राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई आदर्श सञ्चार सहकारी संस्था बागलुङका कर्मचारीले शुक्रवार विदाई गरेका छन् ।
आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक तथा संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक जिसीलाई सस्थाका कर्मचारीहरुले कार्यक्रमको सफलताको शुभकामना सहित विदाई गरेका हुन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र र केन्द्रीय कृषि सहकारी संघ दक्षिण कोरियाको आयोजनामा कोरियाको राजधानी सिउलमा हुने कृषि सहकारी प्रणाली सम्बन्धी कार्यशालामा राष्ट्रिय सहकारी बैंकको प्रतिनिधित्व गर्दै जिसी उक्त कार्यक्रममा सहभागी हुन जान लाग्नु भएको हो ।
कार्यशालामा दक्षिण कोरियाको कृषि सहकारीको परिचय, कृषि र कृषि सहकारीको अवस्था, कृषि र पशुको बजारीकरणको अवस्था, सहकारी बैकिङ प्रणालीका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
कार्यशालासंगै विभिन्न देशबाट कोरियामा गएका सहकारीकर्मीहरुलाई दक्षिण कोरियाको चामल प्रशोधन केन्द्र, कृषि उत्पादन तथा वितरण केन्द्र सहित सहकारी मार्फत कोरियाको अर्थतन्त्रको विकासमा गरिएका महत्वपूर्ण विषयमा जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ ।
छोटो समयमा आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा दक्षिण कोरियाले सहकारीमार्फत गरेका उपलब्धीहरुको बारेमा संसारभरका सहकारीकर्मीहरुलाई जानकारी गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
धौलागिरिको सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन विगत २४ वर्षदेखि निरन्तर क्रियाशिल जिसीले कोरियामा सिकेको सहकारी सम्बन्धी ज्ञान नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन सहयोगी हुने विदाई कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
संस्थाका प्रशासन विभाग प्रमुख कमला क्षेत्री, सम्वाददाताहरु सिर्जना पन्त, सुवास गौतम, रविना बोहरा लगायतका कर्मचारीहरुले यात्रा सफलताको शुभकामना सहित कोरियामा सिकेको ज्ञानलाई नेपालको सहकारी अभियानमा प्रभावकारी रुपमा कार्यान्वयन गराउन सहयोगी हुने धारणा राख्नु भएको थियो ।
१४ मे देखि १९ मे सम्म दक्षिण कोरियाको राजधानी सिउलमा हुने अन्तर्राष्ट्रिय कार्यशालामा सहित सहित राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि सहित ५ जनाको सहभागिता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung