आफ्नो भावना र बिचार व्यक्त गर्ने सिपको अभावमा पछि परेका रघुगंगा गाउँपालिकाका महिलाहरु नेतृत्व तथा क्षमता विकासमा अग्रसर भएका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा कल्व र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी दंगले व्यक्त गर्ने भनेर तालिम लिएका छन् । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तिन दिने नेतृत्व तथा क्षमत्ता विकास तालिम शुक्रबार मौवाफाँटमा सम्पन्न भएको छ ।
तालिममा गाउँपालिकाको ८ वटै वडाका पाँच जनाका दरले ४० जनाको सहभागीता रहेको तालिम संयोजक खरिदार सोनीया शर्माले बताए । सहभागीहरुलाई म्याग्दी जेसीजका अध्यक्ष रमेशकुमार श्रेष्ठले भाषण, उद्घोषण कला, कार्यक्रम सञ्चालन तथा मन्तव्य व्यक्त गर्ने तरिकाको विषयमा सहजिकरण गरेका थिए ।
ग्रामीण क्षेत्रका महिलाहरु आफ्नो बिचार र समस्या व्यक्त गर्न नसकेर पछि र समस्यामा परेकाले उनीहरुलाई विकासको मुल धारमा ल्याउन तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले बताए । आफ्नो परिचय समेत भन्न नसक्ने अवस्थाका महिलाहरु तालिमपछि निर्धक्कसंग बोल्न सक्ने भएका छन् ।
तालिम लिएपछि बैठक, सभा समारोहमा कसरी प्रस्तुत हुने र कार्यक्रम सञ्चालन गर्ने तरीकाको विषयमा जानकारी पाएको सहभागी कुईनेमंगलेकी लक्ष्मी छन्त्यालले बताइन् । गाउँपालिकाले यसअघि वडा न. ३ पिप्लेका महिलाहरुलाई पनी नेतृत्व तथा क्षमत्ता विकास सम्बन्धि तालिम दिएको थियो ।

































































































































































































