नवलपरासी जिल्लाको बर्दघाटमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखाको शुक्रवार विधिवत उद्घाटन गरिएको छ । शाखाको उद्घाटन प्रदेश नं. ५ का पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका थिए । सो अवसरमा बोल्दै उनले संविधानले अंगिकार गरेको तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका कोर्नु पर्नेमा जोड दिएका छन् ।
संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि राज्य, सहकारी र निजी क्षेत्रबीचको सहकार्यको अवधारणा अगाडि बढाएकाले सोही अनुसार अगाडि बढ्ने योजना संघीय, प्रदेश र स्थानीय सरकारले बनाउन सकेमा मात्रै समृद्धिको अभियान सफल हुने उनको धारणा थियो ।
राज्यले लिएको नीति सही रुपमा कार्यान्वयन गर्ने हो भने नेपालको समृद्धि छिटो र सहज रुपमा हुने दावी गर्दै उहाँले सहज रुपमा कार्यान्वयन हुन नदिने प्रवृतिलाई रोक्नु पर्नेमा जोड दिए । समृद्धिका लागि सहकारीको भूमिका प्रभावकारी छ, तर सहकारी क्षेत्रलाई विभिन्न बहानामा अंकुश लगाउने काम भैरहेको उनको भनाइ थियो ।

सहकारीहरुलाई सक्षम बनाउनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउन तथा प्रदेश नं. ५ अन्तरगतका शाखाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि उहाँले व्यक्तm गरेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले लामो प्रयास पछि बर्दघाटमा सहकारी बैंकको शाखा सञ्चालन गर्न सकिएकोले नवलपरासीका सहकारी संघ संस्थाहरुले बैंकको सेवा सुविधालाई अधिकतम उपयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
वित्तीय लगायत संस्थाहरुको संस्थागत विकास र समन्वयकारी भूमिकाका लागि सहकारी बैंक र सहकारीहरुबीच समन्वय हुनु पर्ने भन्दै उहाले सहकारी बैंकसंगको सहकार्यमा उत्पादनका क्षेत्रमा सहकारीहरुको पूँजि लगाउनु पर्ने उनको भनाइ थियो ।कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्माले नगरको समृद्धिका लागि सहकारीहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहकारी ऐन तथा नियम सहकारी मैत्री बनाउन सहयोग गर्न अभियानकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व सांसद विक्रम खनाल, बर्दघाट नगरपालिकाका उपप्रमुख माया पौडेल, राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक मुक्तिनाथ पाण्डे, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष बृहस्तपति अधिकारी, कृषि सहकारी संघका अध्यक्ष उपेन्द्र प्रधान लगायतले सहकारीहरुलाई प्रवद्र्धन र विकास गर्ने लक्ष्यका साथ स्थापित बैंकको शाखा बर्दघाटमा उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहकारीहरुसंग समन्वय गर्दै बैंकलाई प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकको अवस्थाका बारेमा बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले जानकारी गराएका थिए । बैंकका अध्यक्ष रमेश पोखरेलले अध्यक्षताको आसनबाट बोल्दै सहकारी क्षेत्रलाई सबल, सक्षम र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि वित्तीय लगायतका सेवा दिने गरी बर्दघाटमा स्थापना भएको शाखामार्फत सबै सहकारीहरुले जनताको आयस्तर माथि उठाउने खालका कार्यक्रम सञ्चालन गर्न आव्हान गरे । कार्यक्रम अध्यक्ष पोखरेलको अध्यक्षता, सञ्चालक ज्ञानबहादुर तामाङको सञ्चालन र बर्दघाट शाखाका प्रमुख सविना पोखरेलको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच शाखा उद्घाटनकै दिन सुस्ता पश्चिमका सहकारी संघ संस्थाहरुले ५ करोड भन्दा बढी निक्षेप संकलन गरेको शाखा प्रमुख सविना पोखरेलले जानकारी दिए । सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकका ४२ वटा शाखा स्थापना भई कारोबार गरिरहेका छन् भने ४४ औं शाखाको शनिवार कावासोतीमा उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका सञ्चालक तथा ४ नं. प्रदेशका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
देशभरका १० हजार बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको, १ अर्ब शेयर रकम, १४ अर्ब निक्षेप र १२ अर्ब कर्जा लगानी र १६ अर्बको कुल कारोबार गरेको बैंकमा हाल ३ सय जना कर्मचारी कार्यरत रहेका छन् ।



















































































































































































































