२५ असार २०८२, बुधबार

 

अन्तर्राष्ट्रिय सहकारी दिवसमा वक्तृत्वकला प्रतियोगिता

- सहकारीमार्फत युवालाई समृद्धिमा जोड्न नगरप्रमुख पौडेलको आग्रह

अन्तर्राष्ट्रिय सहकारी दिवस सन २०१८ को अवसर पारेर आदर्श युवा बागलुङको आयोजनामा सहकारीका कर्मचारीहरुका बीच समृद्धिका लागि सहकारी विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । युवाहरुलाई सहकारीमार्फत समृद्धिको अभियानमा केन्द्रीत गराउने उदेश्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा स्थापित आदर्श युवाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले युवाहरुलाई स्वदेशमै उद्यमशिल बनाउनका लागि सहकारी क्षेत्रको प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिए ।

सहकारी क्षेत्रमा रहेको पूँजिलाई युवाहरुलाई व्यवसायिक बनाउने अभियानमा केन्द्रीत गर्न सकेमा धेरै युवाहरु स्थानीय स्तरमै स्वरोजगार हुने भन्दै उनले युवा उद्यमीहरुको विकासमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । सहकारीमा लागेका युवाहरुको पहिचान र प्रभावकारिताका लागि रचनात्मक र सिर्जनात्मक क्रियाकलापमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै उनले सहकारी क्षेत्रको प्रवद्र्धन र समस्या समाधानमा नगरपालिकाले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


अन्तर्राष्ट्रिय सहकारी दिवस र त्यस सन्दर्भमा आयोजित कार्यक्रमका बारेमा जानकारी गराउदै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले युवाहरुलाई आयआर्जनका क्षेत्रमा केन्द्रीत गर्नका लागि व्यवसायिक योजना सहितका कार्यक्रमहरु बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरुले समाज रुपान्तरणका क्षेत्रमा उल्लेख्य काम गरेको उल्लेख गर्दै सहकारी अभियानलाई स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढाउनका लागि आफुहरु सक्रिय रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, सचिव राम थापा अविरल, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, संस्थाका उपाध्यक्ष अञ्जु जि.सी., सहज वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक टिकाराम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आदर्श युवाका संयोजक रोशन जि.सी.को अध्यक्षता, सहसंयोजक पुजन शर्माको स्वागत र सचिव साधना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच आदर्श युवाद्वारा आयोजित समृद्धिका लागि सहकारी विषयक सहकारीका कर्मचारीहरुबीचको वक्तृत्वकला प्रतियोगितामा कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ नगरपालिका–१३ पैयुपाटाका कर्मचारी राधिका कुवर प्रथम भएका हुन् ।


प्रतियोगितामा लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्था बानपा–३ का कर्मचारी अञ्जिता परियार द्वितिय, प्रगति बहुउद्देश्यीय सहकारी संस्था बानपा–२ का कर्मचारी सविना शर्मा तृतिय हुनु भएको थियो भने सान्त्वना पुरस्कार सहज बचत तथा ऋण सहकारी संस्था बानपा–२ का कर्मचारी रविना थापाले प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियोगीहरुलाई क्रमश ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung