सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङले आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार पारेको छ । शेयर सदस्यहरुलाई स्वालम्बी कृषक बनाउने प्रमुख लक्ष्यका साथ ५ वर्षे रणनीतिक योजना तयार गरिएको संस्थाले जनाएको छ ।
संस्थाका सञ्चालक, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुको समेतको उपस्थितिमा शनिवार आयोजित वार्षिक प्रगति समिक्षा तथा पञ्चवर्षीय दीर्घकालिन रणनीतिक योजना तयारी गोष्ठी गरी योजना तयार पारिएको हो ।
स्वावलम्बी कृषक भन्ने मुल दुरदृष्टिका साथ संस्थाका शेयर सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्ने, आयआर्जनका कार्यक्रमहरुमा सहभागी गराउने प्रमुख लक्ष्यका साथ रणनीतिक योजना तयार गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा रणनीतिक योजना निर्माण सम्बन्धमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले दीर्घकालिन लक्ष्य, योजना र कार्यान्वयन गर्ने तत्परताका साथ अगाडि बढ्न सुझाव दिनु भएको थियो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको भन्दै उहाँले राज्यले लिएको नीतिलाई सघाउ पु¥याउने गरी योजना निर्माण गरेर सहकार्य गर्न सुझाव दिनुभयो ।
विकासका लागि राज्य एक्लै हिडेर संभव छैन, राज्य, सहकारी र निजी क्षेत्र मिलेर समृद्ध समाज निर्माणको अभियानमा जुट्नका लागि सबै क्षेत्रले आ–आफ्नो जिम्मेवारी अनुसार समन्वय र सहकार्य गर्नु पर्नेमा जिसीको जोड थियो ।
उहाँले सपना देख्नेहरुले नै सफलता प्राप्त गर्ने भएकाले स्पष्ट भिजनका साथ सहकारी अभियानलाई अगाडि बढाउन र सहकारीमार्फत उत्पादन प्रशोधन र बजारीकरणमा ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिभद्र शर्माले संस्थाले बनाउन खोजेको रणनीतिक योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
आगामी ५ वर्ष भित्र संस्थाले काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका शित भण्डार सञ्चालन गर्ने, सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरण गर्ने, उखु र अदुवाको पकेट क्षेत्र निर्माण गरी आयात प्रतिस्थापन गर्ने लगायतका लक्ष्य संस्थाले लिएको छ ।
२०८० साल असार मसान्तसम्म संस्थामा १ हजार ५ सय शेयर सदस्य, ३ करोड ७५ लाख शेयर रकम, ४ करोड ५० लाख निक्षेप र १० करोड कर्जा लगानी गर्ने गरी रणनीतिक योजना तयार गरिएको संस्थाका सचिव चुडामणी शर्माले जानकारी दिनुभयो ।
कृषकहरुलाई उत्पादनमा केन्द्रीत गर्ने गरी संस्थाको कुल लगानीको ७५ प्रतिशत कर्जा कृषि र पशुपालनमा लगानी गर्ने, कृषि सम्बन्धी अन्य परियोजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता र सचिव चुडामणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
६ सय ८० जना शेयर सदस्य, ८० लाख शेयर पूँजि, १ करोड १७ लाख निक्षेप, १ करोड ८० लाख कर्जा लगानी रहेको संस्थाले उखु खेती, अदुवा खेती गर्नुका साथै सदस्यहरुका कृषि उपजहरुको प्रचार प्रसारका लागि कृषि मेला प्रदर्शनी, विउ तथा विरुवा वितरण लगायतका काम गर्दै आइरहेको छ ।



















































































































































































































