
राष्ट्रिय सहकारी बैंक लिमिटेड गण्डकी प्रदेश शाखा कार्यालय पोखराले शाखामा नयाँ आएका २ जना कर्मचारीलाई मंगलवार स्वागत गरेको छ । राष्ट्रिय सहकारी बैंकमा नयाँ नियुक्ती पाई प्रदेश शाखा पोखरामा जिम्मेवारी पाएका कनिष्ट सहायक सागर श्रेष्ठ र यशोदा नेपाललाई राष्ट्रिय सहकारी बैंक प्रदेश शाखा कार्यालय गण्डकी प्रदेश पोखराका शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले खादा लगाएर स्वागत गरे । बैंकमा ७४ जना नयाँ कर्मचारीलाई थप गरिएको छ । हाल बैंकमा ३ सय ८४ जनाले रोजगारी पाएका छन् ।
स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले नयाँ कर्मचारीहरुलाई उच्च मनोवल र उत्साहका साथ काममा लाग्न आग्रह गरे । उनले समाज रुपान्तरणको महत्वपूर्ण क्षेत्र सहकारी र सहकारी क्षेत्रलाई वित्तीय लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न स्थापित सहकारी बैंकका कर्मचारीहरुले आफुलाई सहकारी क्षेत्रको अगुवाका रुपमा स्थापित गर्नु पर्नेमा जोड दिए । उनले सेवाबाट नै सदस्यको सन्तुष्टी हुने भएकाले बैंकको सेवालाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि कर्मचारीको सक्रियतामा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले कास्की जिल्लासंगै गण्डकी प्रदेशमा सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन सहकारी बैंकको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले सहकारी क्षेत्रका विभिन्न निकायसंग समन्वय गरेर अगाडि बढ्न नयाँ कर्मचारीहरुलाई सुझाव दिए ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका प्रदेश शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले कर्मचारी भनेका मेसिन र अन्य पक्ष भनेको सहयोगी भएकाले कर्मचारीहरुले आफुलाई चुस्त दुरुस्त राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश शाखाका प्रमुख केदारनाथ उप्रेतीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रदेश शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ४ करोड निक्षेप संकलन, ८५ करोड लगानी गरी ३ करोड २० लाख नाफा कमाएको शाखा प्रमुख उप्रेतीले जानकारी दिए ।
देशभरका सहकारी संघ सस्थाहरुको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैकमा हाल देशभरका १० हजार भन्दा बढी सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । नेपाल सरकारको १ करोड सहित १ अर्ब ५ करोड बैंकको शेयर पूँजि रहेको छ । बैंकले ७ वटा प्रदेश शाखा र ३७ वटा शाखामार्फत देशभरका सहकारीहरुलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकमा २२ अर्व निक्षेप, १४ अर्ब लगानी रहेको छ ।