
सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४÷०७५ को कारोबारबाट ७ करोड ३९ लाख कर राज्यलाई भुक्तान गरेको छ । बिहीवार बैंकको वार्षिक समिक्षा कार्यक्रमका अवसरमा बैंकले गत आर्थिक वर्षमा गरेको प्रगतिका बारेमा जानकारी गराइएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकमा देशभरका ९ हजार ९ सय १२ वटा सहकारी संघ संस्था शेयर सदस्य, १ अर्ब ४ करोड शेयर पूँजि संकलन भएको बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा २० अर्ब निक्षेप संकलन, १३ अर्ब कर्जा लगानी गरी २९ करोड ५० लाख खुद नाफा आर्जन गर्न सफल भएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए । वार्षिक कारोबारबाट ७ करोड ३९ लाख कर भुक्तान गरिएको उनले बताए । बैंकले आर्थिक वर्ष २०७३÷०७४ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १४ प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक वर्षको कारोबारबाट यस पटक १५ प्रतिशत लाभांश दिने लक्ष्य बैंकले लिएको छ ।
बैंकका विभागिय प्रमुखहरु र उपत्यकामा रहेका शाखाका प्रमुखहरुको सहभागितामा सम्पन्न समिक्षा कार्यक्रममा बैंकको समग्र अवस्थाका बारेमा बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेती, नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईले जानकारी गराएका थिए । विगतका राम्रा पक्षहरुलाई प्रभावकारी बनाउन र कमजोरीहरुलाई थप सुधार गर्दै जानका लागि मासिक समिक्षा गर्ने जनाइएको । २०६१ साउन १९ गतेदेखि कारोबार शुभारम्भ गरेको सहकारी बैंकले २०७५ साउन १९ गते शनिवार १५ औं कारोबार शुभारम्भ दिवस मनाउदैछ ।
कारोबार शुभारम्भ गर्दाको वर्ष (आ.व. २०६१÷०६२) मा बैंकमा ३ करोड ८७ लाख शेयर पूँजि, ५ करोड ६२ लाख निक्षेप र ८ करोड ८७ लाख कर्जा लगानी रहेको थियो । यस अबधिमा बैंकले वित्तीय रुपमा सफलता प्राप्त गर्नुका साथै सदस्य सहकारी संघ÷संस्थाहरुका आवश्यकता अनुसारका विभिन्न तालिम कार्यक्रमहरु जस्तै प्रशिक्षक प्रशिक्षण तालिम, लेखा, कर्जा, सहकारी ब्यबस्थापन लगायतका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले बाढ़ी पहिरो पीडि़तलाई राहत प्रदान, २०७२ को महाभूकम्पका पीडि़तलाई राहत वितरण, वृद्ध आश्रममा फलफूल तथा कपड़ा बितरण, रक्तदान कार्यक्रम, बाग्मती सफाई महा अभियानमा सहभागिता लगायतका कार्यक्रममा सरिक भई आफ्नो तर्फबाट सक्दो योगदान गरेको छ ।
बैंकले अबलम्बन गरेको पांच बर्षे रणनीतिक योजना अन्तर्गत सन २०७६ को मंसिरसम्ममा देश भरका १६ हजार सहकारी संस्थाहरुलाई बैंकमा आबद्ध गराई सदस्य सहकारी संघ÷संस्थाहरुको लागी एटिएम सेवा, ई–वालेट सोव, सहकारीको छुट्टै रेमिटेंन्स सेवा, अन्तर सहकारी चेक भुक्तानी सेवा लगायतका सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको छ । बैंक सदैब आफ्नो सदस्य संघ÷संस्थाको प्रबद्र्घन तथा सदस्य संघ÷संस्थाका सदस्यको जीवनस्तर उकास्न तत्पर रहेको साथै गरीवी निवारण लगायतका दीगो विकास लक्ष्य प्राप्तिमा भूमिका खेल्दै देश विकासको लागि उल्लेखनीय योगदान गर्न प्रतिबद्ध छ ।
सहकारीलाई राज्यले अर्थतन्त्रका तीन मुख्य आधार स्तम्भ मध्ये एक उल्लेख गरेको छ र त्यसका लागि सहकारी क्षेत्रले राज्यको सबै क्षेत्रमा ३३ प्रतिशत योगदान र सहभागिता खोजी रहेको छ । सहकारी क्षेत्रले राज्यलाई बुझाउने कर अन्तरगत पनि सहकारी क्षेत्रकै प्रमुख करदाताका रुपमा बैंक सम्मानित हुदै आएको छ ।
सहकारी बैंकले आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्म १३ हजार ६ सय १५ शेयर सदस्य, १ अर्ब ३८ करोड, ४३ लाख ९५ हजार रुपैया शेयर पूँजि, २७ अर्ब ९७ करोड निक्षेप, १९ अर्ब २३ करोड ३६ लाख ३७ हजार कर्जा लगानी गर्ने लक्ष्य लिएको छ । यस आ.व.मा बैंकले ५५ करोड २१ लाख नाफा गर्ने लक्ष्य लिएको छ ।
यसै आर्थिक वर्षमा संस्थाले स्थानीय तहहरुमा शाखा विस्तार, प्रदेश स्तरीय कार्यालय स्थापना, उत्पादन क्षेत्रमा लगानी वृद्धि, सहकारी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग, संयुक्त राष्ट्र संघ अन्तर्गतको दीगो विकास लक्ष्यलाई सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना अगाडि सारिएको बैकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए ।
बैंकले संघीय संरचना अनुसार पहिलो चरणमा ७ वटै प्रदेशका राजधानीमा रहेका शाखाहरुलाई प्रदेश स्तरीय शाखा बनाउने योजनाका साथ अगाडि बढेको छ । आ.व. २०७५÷०७६ को बजेटमा प्रदेशस्तरीय शाखा निर्माणका लागि आवश्यक कर्मचारी, कार्यालय व्यवस्थापन लगायत आवश्यक काम गर्न ९५ लाख ३४ हजार रुपैया बजेट विनियोजन गरिएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।