प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैंकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीईओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीईओको भूमिकामा थिए । थकाली नेपाल चार्टर्ड एकाउन्टेण्टस संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कुल अफ इकोनोमिक्स, लन्डन, विश्व बैंक, वासिङटन, हिडा, जापान, एआइटी, थाइल्यान्ड, फिच्ट लर्निङ, सिंगापुरलगायतका प्रतिष्ठित संस्थाहरूबाट बैंकिङ तथा व्यवस्थापनसम्बन्धी विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेन्ट ट्रेनीको रुपमा बैकिङ करियर सुरु गरेका थिए । त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्रान्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रूपमा काम गरेका थिए ।













































































































































































































