जिल्लाका अधिकाशं संघ संस्थाको स्थापना दिवस मनाउने सोच अहिले परिवर्तन भएको छ । पहिले यहाँका संघ संस्थाले आफ्नो स्थापना दिवस ठुलो खर्च गरेर मनाउने गर्दथे अहिले सवैको सोच बदलिएको छ ।
ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड बागलुङले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेर मनाएको छ । बागलुङमा प्रधान कार्यालय रहेको बैंकले आफ्नो स्थापना दिवसमा यहाँको मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको हो ।
अन्य बाहिरी खर्च गर्नु भन्दा कुनै परोपकारी कार्यमा खर्च होस भन्ने उद्देश्यले दिवस मनाउने खर्चले मानव सेवा आश्रमलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गरेको बैंकका संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताए ।
हामी मानवताको नाताले मानवको सेवा गुर्न पर्दछ भन्ने भावनाले यस संस्थालाई सहयोग गरेका छौं श्रेष्ठले भने, ‘आउँदा दिनमा पनि यस्तै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्नेछौं । आश्रमका लागी दाल, चामल, तेल लगायतका करिब १० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
आश्रममा हाल २२ जना आश्रीत रहेका छन । अशक्त र बेसहारा नागरिकको संरक्षणका बागलुङ सदरमुकाममा डेढ बर्ष अघि देखी नै आश्रम खोलिएको छ । बागलुङ बजारको सडकका पेटि पेटिमा साहरा विहिन भएर भोक भोकै अवस्थामा डुलिरहेका व्यक्तिहरुलाई उठाएर आश्रममा मायाँ र सत्कारले राखिएको आश्रमकी संचालिका सुमिरा लामाले बताईन ।
हामीले धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं लामाले भनिन, ‘यसका लागी सवै सरोकारवालाको सहयोगको खाँचो रहेको छ । आश्रममा दैनिकी चलाउनका लागी झण्डै ६० जनाले नियमित मासिक रुपमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन ।
पछिल्लो समयमा केही संघ संस्थाले स्थापना दिवस साथै व्यक्तिहरुले आफ्नो जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको लामाले बताईन ।













































































































































































































