नयाँ दिल्ली । पाँच मानव अधिकारकर्मीहरुको गिरफ्तारीमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा याचिका दायर गर्ने पाँच जना मध्येमा इतिहासकार रोमिला थापर पनि सामेल छिन् ।
बीबीसी संवाददाता विनीत खरेसँग कुरा गर्दै रोमिला थापरले पछिल्लो चार वर्षमा देशमा डर र त्रासको माहौल बढेको र यो माहौल संकटकालको तुलनामा अझ डरलाग्दो भएको बताइन् ।
इतिहासकार रोमिला थापरले पाँच मानवअधिकारकर्मीमाथि भइरहेको कारवाहीमा यसो भनिन्ः
महाराष्ट्र प्रहरीले यी पाँच मानव अधिकारकर्मीको घरमा पुगेर भन्यो कि हामी तपाईंलाई पक्राउ गर्दैछौँ । हामीले आफ्नो याचिकामा भनेका छौँ उनीहरु स्थापित र चर्चित व्यक्तित्व हुन्, कुनै अपराधी होइनन् जसलाई तपाईंहरु उनीहरुलाई उठाएर जेलमा हाल्न सक्नुहुन्छ ।
यसमा हामीले जान्न चाह्यौँ किन उनीहरुमाथि लगाइएको आरोप के हो र के प्रमाणित गर्न चाहनुहुन्छ र यसको प्रक्रिया के हो ?
भारतमा एकैपटक कयैन अभियानकर्मी पक्राउ
यसमा सर्वोच्च अदालतमा सुनुवाई भयो र अदालतले उनीहरुलाई एक हप्तासम्म आ–आफ्नो घरमा नजरबन्द राख्न आदेश दिएको छ । उनीहरुलाई जेल पठाउने आदेश दिइएन । सर्वोच्च अदालतमा यस मामिलामा अर्को सुनवाई हुनेछ ।
म उनीहरुलाई व्यक्तिगतरुपमा चिन्दछु । यदी तपाईं कसैलाई पक्राउ गर्दै हुनुहुन्छ भने तपाईंसँग उनीहरुलाई किन पक्राउ गरिँदैछ भन्ने पूर्ण जानकारी हुनुपर्छ । गिरफ्तारीको प्रक्रिया पनि हुन्छ जहाँ उनीहरुलाई आफ्नो कारण प्रस्तुत गर्दै आफ्नो कुरा राख्ने मौका दिइन्छ ।
उनीहरुमाथि कारेगाउँमा भएको हिंसामा सामेल भएको आरोप लगाइएको छ । जबकी यसमा केही व्यक्ति त शारीरिक रुपमा उपस्थित पनि थिएनन् । उनीहरुमाथि यस्तो आरोप लगाइएको छ कि मानौँ उनीहरुले बन्दुक या लाठी उठाएर हिंसा गरेका हुन् । तर, उनीहरु सबै लेख्ने, पढ्ने–पढाउने व्यक्तिहरु हुन् । यस आरोपमा हिंसाको अर्थ के हो ?

सुधा भारद्वाज वकील हुन्, आनंत तेलतुंबडे आर्थिक र सामाजिक विश्लेषण गर्ने लेखक हुन् । यसमा एक कार्यकर्ताको अतिवादी वामपन्थी सोच रहेको छ, तर यही आधारमा तपाईं कसैलाई जेलमा हाल्न सक्नुहुन्छ ?
उनीहरुमाथि माओवादी–नक्सल समर्थक भएको आरोप पनि लगाइएको छ । तर, प्रहरीसँग उनीहरुको सम्बन्ध भएको प्रमाण हुनुपर्छ । अदालतमा प्रमाण दिनुपर्छ ।
के बदलियो चार वर्षमा ?
पाँच वर्षअघि यस्तो थिएन । पछिल्लो चार वर्षमा डर, भय र आतंकको माहौल बढेको छ । सरकारको रवैया निरंकुश बन्दै गइरहेको छ । अल्पसंख्यक, दलित र मुस्लिमप्रति जस्तो व्यवहार भइरहेको छ, यो चिन्ता विषय हो ।
पहिले कानून यसरी काम गर्दैन थियो । आधा रात प्रहरी कसैलाई उठाउन पुग्दैन थियो । यदी तपाईंमाथि कुनै मुद्दा चल्न लागेको थियो भने तपाईंलाई जानकारी दिइन्थ्यो ।
सरकार आफ्नो उद्देश्यमा सफल भयो भने हालत योभन्दा गम्भिर हुन सक्छ । शक्तिको बलमा जनताको आवाज दबाउन जुट्नेछ ।
मेरो विचारमा संकटकालको स्थिति आजको तुलनामा माइल्ड अर्थात् कम खतरनाक स्थिति थियो । किनभने आज मानिसमा डर र भयको माहौल छ, जुन संकटकालमा थिएन । सायद संकटकाल कम समय चलेको हुनाले यस्तो हुन सक्छ किनभने यो अवस्या विगत चार वर्षदेखि चलिरहेको छ ।
यदी सन् २०१९ पछि यो स्थिति आगामी पाँच वर्षसम्म बन्यो भने स्थिति के हुनेछ तपाईं त्यसको कल्पना मात्र गर्न सक्नुहुनेछ ।
रातोपाटीबाट
















































































































































































