खाडी मुलुकहरू साउदी अरेबिया र कतारबीच जारी कूटनीतिक विवादका माझ एउटा यस्तो समाचार बाहिर आएको छ, जसले दुई देशबीचको सम्बन्ध झन् बिगार्न सक्छ।
साउदी अरेबियाका एक अधिकारीले दिएको सङ्केत अनुसार उनको देशले एउटा यस्तो नहर परियोजनालाई अगाडि बढाइरहेको छ, जसका कारण कतारी प्रायःद्वीप एउटा द्वीपमा परिणत हुनसक्छ।
राजकुमार मोहम्मद बिन-सलमानका वरिष्ठ सल्लाहकार साउद अल कहतानीले ट्विटरमा लेखेका छन्, “म निकै व्यग्रताका साथ सलवा द्वीप परियोजना लागु हुने जानकारीको प्रतीक्षामा छु। यो ऐतिहासिक परियोजनाले यस क्षेत्रको भूगोललाई परिवर्तन गरिदिनेछ।”
उक्त परियोजनाले मूर्तरूप लिएमा कतारी प्रायःद्वीपलाई भौगोलिक रूपमा नहरका कारण साउदी अरेबियासँग अलग पारिदिनेछ।
विवाद
र, त्यसो भए दुवै देशबीच गत १४ महिनादेखि जारी विवाद थप चुलिनसक्छ।
हुन त त्यसबारे न साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छ न त कतारले नै कुनै प्रतिक्रिया जनाएको छ।
साउदी अरेबियाः कतारलाई थप एक्ल्याउँदै?
के विश्वकपलाई लिएर कतार तनावमा छ?
के कतारमा विश्वकप हुने सम्भावना टर्दैछ?
यसै वर्षको एप्रिलमा सरकार समर्थक साउदी समाचार वेबसाइट ‘सबक’ले प्रकाशित गरेको रिपोर्टमा साउदी सरकारले कतारसँगको सिमानामा ६० किलोमिटर लामो र २०० मिटर चौडाइ भएको नहर निर्माण गर्न चाहेको उल्लेख थियो।
सो रिपोर्टमा उल्लेख गरिए अनुसार ७५ करोड डलर लागतमा नहर निर्माण गरिनुका साथै त्यहाँ पारमाणविक फोहोर व्यवस्थापनका निम्ति एउटा स्थान पनि तय गरिनेछ।
तस्वीर कपीराइटTWITTER/SAUD AL-QAHTANIसाउदी अखबार ‘मक्का’ले गत जुनमा लेखे अनुसार नहर निर्माणमा विशेषज्ञता भएका पाँचवटा कम्पनीलाई आवेदनका लागि आह्वान गरिसकिएको छ र कम्पनीको चयन सेप्टेम्बरमा गरिनेछ।
उक्त रिपोर्टमा ती पाँचवटा कम्पनीको नाम चाहिँ उल्लेख गरिएको थिएन।
सन् २०१७ को जुनमा साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहराइन र इजिप्टले कतारसँग कूटनीतिक तथा व्यापारिक सम्बन्ध तोडेका थिए।
प्रतिबन्ध
ती मुलुकहरूले कतारमाथि अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, उग्रवादी संगठनहरूलाई सहयोग गरेको र इरानसँग निकटता बढाएको आरोप लगाएका थिए।
दोहाले ती आरोपहरूको खण्डन गर्दै त्यसलाई निराधार बताउँदै आएको छ।
कतार विवादले पार्ने पाँच प्रभाव
कतारले अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ नगर्ने
गत वर्ष उत्पन्न विवादपछि साउदी अरेबियाले कतारको एकमात्र स्थल सीमा-नाका बन्द गरिदियो।
तस्वीर कपीराइटAFP/GETTY IMAGESबहिष्कार गर्ने अरू छिमेकी मुलुकले पनि कतारको सरकारी वायुसेवालाई आफ्नो आकाश प्रयोग गर्नमा प्रतिबन्ध लगाइदिए।
स्थिति यतिसम्म खराब हुन पुग्यो कि ती मुलुकले कतारी नागरिकलाई देश निकाला गरिदिए।
खाडी देशबीचको विवाद सुल्झाउन कुवेत र अमेरिकाले कूटनीतिक प्रयत्न गरे पनि तिनीहरू सफल हुन सकेनन्।वीवीसी नेपालीबाट
















































































































































































