२१ भाद्र २०८३, आईतवार

 

दुई कोरियाको शिखर बैठक पहिलो पटक प्योङ्याङमा

उत्तर कोरियाका नेता किम जङ-अन र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनबीच मङ्गलवार उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता हुँदैछ।

सो शिखर बैठकमा दक्षिण कोरियाका अगुवा व्यापारीहरू पनि सहभागी हुने दक्षिण कोरियाली राष्ट्रपति मूनले पुष्टि गरेका छन्।

किम र मूनबीच हुन लागेको यो तेस्रो शिखर बैठक हो। प्योङयाङमा भने पहिलो पटक उनीहरूबीच बैठक हुँदैछ।

यसअघि दुई कोरियाको सीमा क्षेत्रमा किम तथा मूनबीच शिखरबैठक भएको थियो।

सहयोग

यो शिखरबैठकको तयारीका लागि दक्षिण कोरियाली सरकारी अधिकारीहरू, प्राविधिक कर्मचारी तथा पत्रकारहरू आइतवार नै प्योङयाङ पुगिसकेका छन्।

मूनले उत्तर कोरियालाई आर्थिक सहयोग प्रदान गर्दै उसका परमाणु अस्त्रहरू परित्याग गराउन उनी इच्छुक रहेको बताइन्छ।

किम-मूनतस्वीर कपीराइटREUTERS

गरीबी तथा संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरिया सो प्रस्ताव सजिलै मान्न सक्ने ठानिएको छ।

तर दक्षिण कोरियाको त्यस्तो प्रस्ताव जोखिममुक्त नभएको विश्लेषकहरू बताउँछन्। उत्तर कोरियासमक्ष यति छिट्टै यस्ता प्रस्तावहरू नराख्न कतिपयले सावधान गराएका छन्।

महत्त्वपूर्ण

अमेरिकाले प्योङ्याङलाई आर्थिक सहयोग प्रदान गरेर परमाणु निरस्त्रीकरणको प्रक्रियामा ठोस प्रगति हासिल भएको हेर्न चाहन्छ।

गत एप्रिलमा एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूबीच पहिलो पटक भेट भएको थियो र त्यसको एक महिनापछि दोस्रो पटक भेटवार्ता भएको थियो।

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भए पनि प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धको अवस्थामा छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किमबीच गत जुनमा भएको ऐतिहासिक शिखर बैठक गराउन मूनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

वीवीसी

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung