राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले सहकारीहरुले विपन्न वर्गका जनताको आयस्तर माथि उठाउन गरेको योगदानको मूल्यांकन हुन नसकेको बताएका छन् । हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं ६ अर्मला कास्कीको छैठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताएका हुन् । पूँजि परिचालनका लागि सहकारीको योगदान महत्वपूर्ण छ तर सहकारीको योगदानका बारेमा सही मूल्यांकन नभएको भन्दै उनले सहकारीका सदस्यहरुले सहकारीमार्फत भएका सकारात्मक विषयलाई आम जनताका बीच लैजानु पर्नेमा उनको जोड थियो ।
जनतालाई आयआर्जन गर्न, व्यवसायिक बन्न, वचत गर्न र संगठित भई नेतृत्व विकास र क्षमता विकासका लागि सहकारीको योगदान राम्रो भएको भन्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन सहकारी संघ संस्थाहरुले संस्थागत रुपमा काम गर्नु पर्नेमा जोड दिए ।
सहकारीहरुलाई आर्थिक समृद्धिको अभियानमा प्रभावकारी रुपमा लगाउनका लागि सहकारीमैत्री नीति नियम र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जीवन प्रसाद आचार्य, जिल्ला सहकारी संघ कास्कीका सञ्चालक धर्मराज अर्याल, बचत तथा ऋण सहकारी संघ कास्कीका सञ्चालक कमला गिरी, नेफ्स्कुन फिल्ड कार्यालय पोखराका सञ्चालक नारायण आचार्य, डाँफे वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव बाँस्तोला, गौरीशंकर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव शरण पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष बुद्धिबहादुर गुरुङको स्वागत र सचिव विष्णुप्रसाद लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सचिव लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष ताारानाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दिपक आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पोखरा महानगरपालिका वडा नं. १६ कार्यक्षेत्र रहेको संस्थामा ५ सय ६३ जना शेयर सदस्य, २ करोड ८० लाख शेयर रकम, १२ करोड १५ लाख वचत, १० करोड ४८ लाख कर्जा लगानी रहेको संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले जानकारी दिए ।



















































































































































































































