राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले सहकारीहरुले पूँजि निर्माणसंगै सदस्यहरुलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताए । पोखरा महानगरपालिका वडा नं. १ बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार आयोजित आठौ वार्षिक सधारणसभाको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारीले शेयर सदस्यलाई बचत गरी पूँजि संकलन गर्ने काम प्रभावकारी रुपमा गरेका छन, अब सदस्यहरुसंग भएको पूँजिलाई उत्पादन तथा व्यवसायमा लगाउने, सदस्यहरुले उत्पादन गरेका वस्तुहरु सहकारीले संकलन गरेर विक्री वितरण गर्ने तथा प्रशोधनको काम गर्नु पर्नेमा उनको जोड थियो ।
मुलुक समृद्धिको अभियानमा छ, राज्यको यो अभियानलाई सफल पार्नका लागि हरेक व्यक्तिको हातमा काम हुनुपर्छ, कामका लागि सहकारीहरुले वातावरण तयार गर्न सकेमा सहकारीको योगदान पनि बढ्ने र राज्यले लिएको लक्ष्य पनि पुरा हुने भएकाले सहकारीको पूँजिलाई उत्पादन, संकलन, बजारीकरण र प्रशोधनतर्फ केन्द्रीत गर्न पर्ने उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय सहकारी महासंघ प्रतिनिधि तेजनारायण अधिकारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पूण्यप्रसाद पौडेल, वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष कमलादेवी गिरी, जनसेवा साकोसका अध्यक्ष लिलाधर अधिकारी, जय मनकामना साकोसका अध्यक्ष बुद्धिबहादुर खत्री, हितैषी साकोसका सञ्चालक धनराज आचार्य, ध्रुवतारा साकोसका प्रवन्धक विजयवावु पंगेनी, गौरीशंकर साकोसका व्यवस्थापक डम्बरसिंह बस्नेत लगायतले सहकारी क्षेत्रको पूँजिलाई उत्पादनमा लगाउने वातावरण आवश्यक रहेको बताए ।
कार्यक्रम आस्था साकोसका अध्यक्ष जगन्नाथ अधिकारीको अध्यक्षता, उपाध्यक्ष निलकण्ठ आचार्यको स्वागत र सचिव नारायण प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन, सचिव आचार्यले नीति तथा कार्यक्रम, कोषाध्यक्ष इश्वरीप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा संस्थाका सचिव नारायणप्रसाद आचार्यले स्थापना गरेको आस्था सहकारीता पुरस्कार सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पूण्यप्रसाद पौडेललाई प्रदान गरिएको थियो । यस्तै संस्था प्रवद्र्धन तथा विकास पुरस्कार डा. श्रीराम आचार्य र रविन्द्रकुमार आचार्यलाई प्रदान गरिएको थियो ।

साधारणसभामा आस्था प्रतिभा सम्मान, जेष्ठ सदस्य सम्मान, उत्कृष्ट वर्ष सदस्य सम्मान लगायत उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । ८ सय ४३ जना शेयर सदस्य रहेको आस्था साकोसमा ३ करोड ५४ लाख शेयर पूँजि, १९ करोड वचत, २० करोड कर्जा लगानी रहेको संस्थाका सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए । संस्थाले बचत तथा ऋण संगै सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको सचिव आचार्यले बताए ।



















































































































































































































