१० कार्तिक २०८३, सोमबार

 

सामाजिक न्यायसहितको अर्थतन्त्रका लागि सहकारी: सांसद के.सी.

प्रतिनिधिसभाका सदस्य मनकुमारी केसी जिसीले आधारभूत तहका जनतालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सक्षम बनाउदै सवल अर्थतन्त्रको विकासका लागि सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएकी छन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले विजया दशमी लगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा वर्तमान अवस्थामा सहकारीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएकी हुन् ।

सबै शेयर सदस्यहरुलाई मालिक बनाउने, सामाजिक न्यायको प्रत्याभूत गराउने र सबल र सक्षम अर्थतन्त्रको विकासका लागि जनतालाई क्रियाशिल बनाउने सहकारी क्षेत्रलाई साथमा लिएर तीन वटै सरकारका गतिविधि अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

सहकारी क्षेत्रमा भएका समस्याहरुलाई समाधान गर्दै विपन्न वर्गका जनतालाई कर तिर्न सक्ने नागरिकका रुपमा विकास गर्न सहकारीको विकल्प नभएको भन्दै उहाँले गरिवी निवारणको लक्ष्य पुरा गर्ने हो भने विशेष गरेर स्थानीय सरकारले सहकारीसंगको सहकार्यलाई बढाउनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव बद्रीनाथ अधिकारीले संघीय संरचनाका कारण सहकारी क्षेत्रमा देखिएको अलमललाई अन्त्यका लागि सहकार्य आवश्यक रहेको बताए ।

गण्डकी प्रदेश सहकारी मन्त्रालयले जिल्लाका सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघसंग समन्वय गरेर विगतमा डिभिजन सहकारीले सञ्चालन गर्ने कार्यक्रमहरुलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्र्मा लगायतले सहकारी क्षेत्रलाई विकासको साझेदार निकायका रुपमा लिएर अगाडि बढ्न सकेमा मात्रै स्थानीय सरकारको काम प्रभावकारी हुने धारणा राखे ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung