पर्वत सदरमुकाम कुश्मा बजारको सुरक्षाको जडान गरिएका सि.सि. क्यमेरा मर्मत गर्न शुरु भएको छ । सुरक्षालाई बलियो बनाउन ४ वर्षअघि जडान गरिएका सि.सी क्यमेराहरु बिग्रँदै जाँदा सुरक्षा चुनौती बढेपछि कुश्मा नगरपालिका र पर्वत उद्योग वाणिज्य संघको लगानीमा क्यामेरा मर्मत गर्न शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
कुश्माका मुख्यमुख्य चोकमा २९ ओटा सि.सि. क्यामेराहरु जडान गरिएको भएपनि पछिल्लो समयमा ८ ओटा क्यामेरा मात्र संचालनमा रहेका थिए । प्रहरी नायव उपरीक्षक तिवारीका अनुसार तिहार अगाडिबाट मर्मत शुरु गरिएकोमा अहिलेसम्म १९ ओटा क्यामेरा सुचारु भैसकेका छन । अब चल्नेलाई मर्मत गरिने र मर्मत नहुनेको ठाउँमा नयाँ थपिने डि.एस.पी. तिवारीको भनाई छ ।
समय समयमा क्यामेराहरु बिग्रने गरेका कारण अब भने निरन्तर चलाउनको लागि जिल्ला प्रहरी कार्यालयमा ‘पावर ब्याक अप’ राखेर क्यमेरा चलाउने गरी काम भैरहेको छ ।
नेपालकै अग्ला र लामा झोलुङ्गे पुल आसपासको क्षेत्रमा आत्महत्या लगायतका अन्य आपराधिक घट्ना बढ्दै गएका कारण यस पटक भने ति पुलहरु रहेको स्थानमा पनि सि.सि. क्यामेरा राख्ने तयारी गरिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।
उहाँका अनुसार बिग्रिएका क्यमेरा मर्मत र नयाँ थप गर्नको लागि आवश्यक रकम कुश्मा नगरपालिका र उद्योग बाणिज्य संघले बेहोर्ने छन । कुश्मामा बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोगमा ४ बर्ष अगाडि झन्डै ३० लाखको लगानीमा क्यामेराहरु जडान गरिएको थियो ।
क्यामेराको जिम्मा लिएको कुश्मा नगरपालिकाले लामो समयसम्म मर्मत नगर्दा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले बिभिन्न ब्यक्ति तथा संघ सस्थासंग सहकार्य गरेर मर्मत गर्दै आएको थियो ।



















































































































































































































