१ जेष्ठ २०८१, मंगलवार

 

फ्रान्स: प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्सका प्रधानमन्त्री एडवार्डो फिलिपले राजधानी प्यारिसमा पछिल्ला विरोधप्रदर्शनहरूका क्रममा प्रहरीसँग झडपमा उत्रिएका प्रदर्शनकारीहरूको निन्दा गरेका छन्।

सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्ने र सुरक्षाकर्मीहरुसँग झडपमा उत्रिने मात्र मनसाय भएकाहरूलाई कुनै माफी नदिइने उनले बताए।

प्यारिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध तेस्रो सप्ताहन्तमा पनि सडकप्रदर्शनहरू भइरहेका छन्।

‘अपमान’

विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फजस्ता राष्ट्रिय स्मारकहरूप्रति अपमान देखाइएको कार्यले आफूलाई स्तब्ध तुल्याएको फ्रान्सेली प्रधानमन्त्री फिलिपले बताएका छन्।

आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए।

प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरीतर्फ ससाना ढुंगाहरू फालेका थिए अनि प्रहरीले सुरक्षाका लागि राखेका अवरोधहरूमा पहेँलो रंग पोतेका थिए।

पक्राउ

राजधानीको मध्यभागमा अश्रुँग्यास र आगजानी गरिएका गाडीहरूबाट धुवाँ उडिरहेको देख्न सकिन्थ्यो।

एकसय भन्दा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ ।

यो सप्ताहान्तमा प्रदर्शन कारीहरूले गरेको आन्दोलनमा ३६ हजार मानिसहरू सहभागी भएको फ्रान्सेली अधिकारीहरूले बताएका छन्।

तीन हप्ताअघि सुरु हुँदा ती प्रदर्शनहरूमा तीन लाख मानिसहरू सहभागी भएको ती अधिकारीहरू बताउँछन्।

‘ऊर्जा रणनीति’

इन्धनको बढ्दो मूल्य र महँगीको विरोधमा फ्रान्समा विरोधप्रदर्शनहरू सुरु भएका हुन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले यसै उनको सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन् ।

इन्धन करमा गरिएको वृद्धि विश्व तातिँदै जाने अवस्थासँग जुझ्ने फ्रान्सको भावी ऊर्जा रणनीतिको एउटा महत्त्वपूर्ण हिस्सा भएको माक्रोँले बताएका छन्।

तर कर लागू हुने तरिकाहरूप्रति आफू लचिलो हुनसक्ने माक्रोँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्