बेनीमा महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदान संकलन गरेर विपन्न विद्यार्थीलाई सोमबार नगद र खाद्यान्न सहयोग गरेको छ ।
संस्थाकी सेयर सदस्य स्वः तेजकुमारी गैरे (रुविना)को स्मृतिमा बेनपा ६ स्थित जामुनाखर्क माविका दुई जना छात्रालाई खाद्यान्न सहित नगद दुई हजार एक सय रुपैयाका दरले सहयोग गरेको हो ।
कक्षा १० की मनिषा भण्डारी र ९ की देवी खत्रीलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष ज्योती लामीछानेले बताइन ।
एक/एक बोरा चामल, एक पेक तेल, एक पेक चाउचाउ, दुई प्याकेट दालमोठ, तीन प्याकेज भुजा, पाँच प्याकेट नुन, ४ प्याकेट चिउरा, ४ के.जी रातो दाल, एक/एक दर्जन कापी, दुई प्याकेट कलम र एक/एक दर्जन कपडा धुने सावुन उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष लामीछाने लगायत पदाधीकारी र रुविनाका अभिभावक सहितको टोलीले विद्यालयका प्रअ सोमनाथ ढुङ्गाना मार्फत छात्राहरुलाई नगद र खाद्यान्न हस्तान्तरण गरेको हो ।
सेयर सदस्यहरुबाट मुठ्ठिदान अभियान मार्फत सहयोग जुटाएर गरिब, विपन्न, विपद् पिडित, अनाथ महिला तथा बालबालिकाहरुलाई सहयोग गरिदै आएको सहकारीले जनाएको छ ।
यसैगरी दिदीबहिनी सहकारी र संगम म्याग्दीको आयोजनामा लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जामुनाखर्क माविका विद्यार्थीहरुलाई साईबर क्राइम र बालअधिकारको विषयमा प्रशिक्षण दिइएको छ ।



















































































































































































































