२२ भाद्र २०८३, सोमबार

 

इलाहावादको कुम्भमा नेपाली महिला नागा साध्वी!

इलाहाबाद (भारत) स्थित प्रयागराजमा महाकुम्भको सोमबार दोस्रो शाही स्नान भएको छ। माघ महिनाको सोमबारे औँशी पारेर आज त्यहाँका विभिन्न १३ वटा अखडाका सन्यासीहरुले परम्परा अनुसार गंगामा नुहाएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, जुना अखडा अन्तर्गत रहेका ‘नागा साधु’ ले बिहान सबेरै कुभ्ममा डुबुल्की मारेपछि सुरु भएको घुइँचोमा नेपालबाट गएका स्वामीहरु पनि ठूलै संख्यामा सहभागी छन्।

त्यसैक्रममा तनहुँ देवघाटस्थित गलेश्वर आश्रमका पिठाधीश श्रोतीय बह्मनिष्ठ अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजले सोमबार प्रयागराजमा कुम्भमा स्नान गरेका छन्। उनी निरञ्जनी अखडाका महामण्डलेश्वर हुन्। महामण्डलेश्वर उपाधीले विभुषित भएकाले आत्मानन्द स्वामी रथमा चढेर नुहाउन घाट पुगेका थिए।

कुम्भ मेला आयोजकले उनको टोलीलाई इलाहाबादको सेक्टर १६ मा अस्थायी आश्रमको व्यवस्था गरेको छ। ‘पुस २७ गते उता (कुम्भ) जानु भएका स्वामीजीले पहिलो स्नान माघे संक्रान्तीमा गर्नुभयो, आज (औँशी) को स्नानपछि उहाँ फर्कनुहुन्छ’, गलेश्वर आश्रमका सचिव महेन्द्रनाथ प्याकुरेलले नेपालखवरसँग भने, ‘त्यहाँ स्वामीजीले सन्यासीहरुलाई भोजन गराउनुका साथै दान पनि दिनुभएको छ।’

महामण्डलेश्वर उपाधी पाएकाहरुले कुम्भ मेलामा सन्यासीहरुलाई भोजन गराउनुका साथै दान पनि दिने परम्परा छ। महामण्डलेश्वर उपाधी पाएकाहरु रथमा आफ्ना चेलाहरु लिएर कुम्भमा सहभागी हुन्छन्। स्वामी आत्मानन्दजस्तै कुम्भमा नेपालबाट अन्य स्वामी सन्यासी÷साध्वीहरुले पनि सहभागिता जनाएका छन्।

भारतमै रहेको निरञ्जनी अखडाका आचार्य महामण्डलेश्वर पुण्यानन्द स्वामी नेपाली हुन्। सो अखडामा सम्पर्कमा आउने नेपालीहरुलाई भोजन र बासको प्रबन्ध गरिएको पनि प्याकुरेलले बताए।

नेपाली नागा साध्वी
कुम्भ मेला होस् वा शिवरात्रीको पशुपतिको जात्रा, नागा बाबाहरु चर्चामा रहन्छन्। शंकराचार्यले मुसलमानको आक्रमणबाट बच्न स्थापना गरेको नागा साधु हिन्दु संस्कारभित्रको ‘रजोगुणी’ फौज मानिन्छ। हरेक कुम्भ मेलामा उनीहरुले नदीमा डुबुल्की लगाएपछि मात्र ‘शाही स्नान’ सुरु हुन्छ।

खरानीलाई सौन्दर्य प्रशाधन मान्ने नागाहरु वास्तवमै नाङ्गा हुन्छन्। इन्द्रियमाथि विजय पाएको मानिने नागा बाबाले देखाउने चर्तिकला पनि आम मानिसको लागि कौतुहल र आकर्षणको विषय बन्छ।

यसअघि नागा स्वरुपको सन्यासी पुरुष मात्र हुने भए पनि भारतमा नागा महिलाहरु पनि देखिएका छन्। पहिलो पटक जुना अखडाअन्तर्गत महिला नागाहरुले पनि कुम्भमा सहभागिता जनाएका छन्। भारतीय संचारमाध्यमहरुका अनुसार उनीहरुले विधि विधान अनुसार नै कुम्भमा स्नान गरेको जनाएका हुन्।

कुम्भमा नेपाली सहभागिता
उनीहरुका अनुसार यसपटक कुम्भमा महिला मात्र नभएर तेस्रो लिङ्गीलाई पनि स्नानको व्यवस्था गरिएको छ। अधिकारकर्मीले यो महिला र अल्पसंख्यकमाथिको न्यायको रुपमा हेरेका छन्। ती नागा साधुमध्ये केही नेपाली भएको पनि भारतीय मिडियाहरुको दावी छ।

पुरुषले जस्तै महिलाले पनि नागा साध्वी हुनको लागि कडा नियमहरुको पालनाका साथै कडा परीक्षा उत्तीर्ण हुनुपर्छ। साध्वी (सन्यासी) बन्न पहिलो सर्त भनेको ब्रम्ह्चार्यको पालना हो। पुरुष साधुजस्तै महिलाहरुले पनि ६ देखि १२ वर्षसम्म महिला ब्रम्ह्चार्यको पालना गरेकै हुनुपर्छ। यो परीक्षा उत्तीर्ण भएपछि मात्र महिलाहरु सन्यास लिनको लागि योग्य भएको मानिन्छन्।

सन्यास दिनुअगाडि महिलाको अघिल्लो जीवन र घर/परिवारको बारेमा पूर्ण जानकारी लिइन्छ। सन्यास लिनुअघि महिलाले पनि पुरुषले जस्तै आफैले आफूलाई पिण्डदान र तर्पण दिनुपर्छ। महामण्डलेश्वर स्वामीले मात्र महिलालाई सन्यत्र बनाउन पाउने परम्परा छ।

सन्यासी हुनुपूर्व महिलाले आफ्नो कपाल खौरनु पर्छ भने नदीमा स्नानसँगै आफ्ना पुराना बस्त्र त्याग्नुपर्छ। महिला सन्यासीको लागि जप र तप गर्नुपर्छ। बिहान ब्रम्हमुहूर्तमा उठ्नुु, नित्यकर्म गर्नु, शिवजीको जप, मध्यान्न भोजन, शिवजीको जप र साँझमा दत्रातयको पूजापछि साँझ भोजनबिना सुत्नुपर्छ।

सन्यासपछि महिलालाई ‘माता’ सम्बोधन गरिन्छ। मातालाई कुम्भ मेलामा सन्यासीसँगै स्नान गर्ने सुविधा प्रदान गरिन्छ।

माताहरु निधारमा तिलक र गेरुबस्त्र लगाउँछन्। उनीहरुले माता बनेपछि आफ्नो परिवार, समाजसँग कुनै सम्बन्ध र मोह नभएको प्रमाणित गर्नुपर्छ। भगवानको भक्तिमा लीन भएपछि मातालाई दीक्षा दिइन्छ। नागा पुरुष र नागा महिला साधुमा एउटा मात्र फरक हुन्छ, महिलाले दुईवटा नसिलाएको कपडा लगाउँछन् भने नागाहरु नामजस्तै नाङ्गै हुन्छन्।

नेपालमा महिलालाई दीक्षा परम्परा 
स्वामी आत्मानन्द गिरिले महिलाहरुलाई पनि दीक्षा दिने गर्छन्। दीक्षा पाएका महिलाहरुलाई माता (सन्यासीन) भनिन्छ । गलेश्वर आश्रमका अनुसार स्वामीसँग प्रयागमा करिब ५० जनाजति महिला सन्यासीहरुले पनि स्नान गरेका छन् ।

गलेश्वर आश्रम देवघाटमा करिब ५० जनाको हाराहारीमा महिला सन्यासीहरु बस्ने गर्छन्। घर÷परिबार त्यागेर सन्यास लिएकाहरुमा ३५ वर्षदेखि १ सय ३ वर्षसम्मका महिलाहरु रहेको आश्रमका तोयानन्द पौडेलले जानकारी दिए।

उनका अनुसार गलेश्वर आश्रम, म्याग्दी, हरिहर आश्रम पोखरामा पनि केही संख्यामा महिला सन्यासीहरु रहेका छन्। तर, नागा साधुहरु भने नेपालमा छैनन्।

नेपालमा महिलाहरुलाई सन्यास वा दीक्षा दिने चलन पुरानै हो। विधवा वा घर परिवारबाट वैराग्य भएका महिलाहरुलाई स्वर्गद्धारी आश्रममा धेरै पहिलादेखि नै सन्यास दिइन्थ्यो। चितवनमा स्वामी परमानन्द सरस्वतीले महिलाहरुलाई दीक्षा दिन सुरु गरे। शंकराचार्य परम्परा मान्ने गरेका अन्य स्वामीहरुमध्ये केहीले महिलालाई सन्यासी बनाए भने केहीले चाहिँ महिलालाई दीक्षा दिएनन्।

वेदले महिला र पुरुषलाई विभेद नगरेको र महिलाको क्रिया गर्नु पर्दैन भन्ने कहीँ नलेखेकोले महिलालाई दीक्षित गरिएको गलेश्वर आश्रमका प्याकुरेलले बताए। ‘पुरुषजस्तै महिलाले पनि आफ्नो धर्म र अन्तिम कर्म गर्न पाउनुपर्छ’, उनले भने, ‘यो वैदिक संस्कार र परम्परा पनि हो।’

उनका अनुसार गलेश्वरमा धनाढ्य परिवारका श्रीमान/श्रीमति दुबैले राजी–खुसीले सन्यास लिएको उदाहरण समेत रहेको छ।

देवघाटमै रहेको महेश विद्यापीठका प्राचार्य डा गुरुप्रसाद सुवेदी भने महिलालाई सन्यास दिने परम्परासँग त्यति सहमत छैनन्। तर, उनले देवघाट क्षेत्रमा अहिले करिब १ सय ५० को हाराहारीमा महिला साधुहरु रहेको स्वीकारे। हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश ज्ञानानन्द स्वामी, स्वर्गद्धारीका भागवतानन्द स्वामीले पनि महिलाहरुलाई दीक्षा दिने गरेका छन्। तर, उनीहरु नागा साध्वी होइनन्।

केही महिलाहरु सन्त परम्परा अनुसार दीक्षित नभए पनि गेरु बस्त्र लगाएर उनीहरुजस्तै जीवन जिउने गरेको पनि उनले बताए।

‘गेरु बस्त्र लगाएर गृहस्थाश्रम त्यागेको देखाउने हो’, उनले भने, ‘अहिले कुम्भमा सन्यास लिएका मात्र हैन, नलिएका तीर्थालु पनि गएका छन्।’

उनका अनुसार काठमाडौँबाट मात्रै कुम्भ स्नानको लागि १ हजारजति तीर्थालुहरु पुगेका छन्। त्यसरी गएकामध्ये केही साधुकै पंक्तिमा बस्दा नेपालबाट जाने महिला साधुमा दरिएको अनुमान पनि उनले लगाए।

‘साधुको लाइनमा बसेर नुहाउँदा पण्डाहरुलाई दक्षिणा दिने झण्झट हुँदैन’, उनले भने, ‘सजिलोसँग स्नान गर्न पाइने भएकाले केही त्यस्तो लाइनमा बसे होलान्।’

आकर्षणका केन्द्र 
‘जात नसोध्नू जोगीको’ हो, जोगीको जात, थर, सानो/ठूलो र घर हुँदैन। न त, गृहस्थ जीवनका सीमाहरु नै हुन्छन्। हुन्छ त केबल ईश्वरभक्ति।

गृहस्थ जीवन त्यागेर स्वामी बन्न सजिलो भने छैन। जन्म र रगतले जोडिएका सबै नाताहरु त्यागेपछि मात्र सन्यासी भइन्छ। शिव सन्यासी, वैरागी बैष्णव र उदासीन सम्प्रदायभित्र नै सबै सन्यासीहरु अटाउँछन्।

 

 

हिन्दू धर्मका विभिन्न सम्प्रदायले विभिन्न नियमानुसार ‘साधु’ को परिभाषा गरे पनि शंकराचार्य परम्परासँग जोडिएका स्वामीहरु बढी चर्चामा आउँछन्। स्वामी शंकराचार्यले नै मुस्लिमहरुको आक्रमणबाट बच्न ‘नागा सन्यासी’ तयार गरेका थिए।

ती सन्यासीहरु विभिन्न अखडासँग जोडिएका हुन्छन्। शिव सन्यासी अखडा अन्तर्गतको जुना अखडालाई सन्यासीहरुको महत्वपूर्ण अखडाको रुपमा मान्ने गरिन्छ। पञ्चदशनाम जुना अखडामा ‘दशनामी’ सन्यासीहरु जोडिन्छन्। दशनामीमध्ये ‘नागा’ सम्प्रदाय महत्वपूर्ण मानिन्छ।

शिवरात्रीमा पशुपतिमा होस् वा भारतमा हुने कुम्भ मेलामा नै किन नहोस्, नागा साधुहरु आकर्षणका केन्द्र बन्न पुग्छन्। हिन्दु सम्प्रदायको बाहुल्य रहेको नेपालमा सन्यासी परम्परा नौलो हैन। नेपालका विभिन्न क्षेत्रमा दशनामी सन्यासीहरुको बसोबास रहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung