नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनयुद्धका शहीद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ ।
२४ औँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो ।
बागलुङ नगरपालिका–३ का शहीद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं. ७ का दिपक विकका बुबा गौरीशङ्कर, काठेखोला गाउँपालिका बिहुँका चेतराम कँडेलकी श्रीमती जमुना, पालाका रोशन थापाका भाइ प्रकाश सम्मानित हुनुभएको हो ।
यस्तै वडा नं. १२ अमलाचौरका गणेश ढकालकी आमा प्रभा, सुर्य नेपालीकी आमा मनकुमारी, इन्द्रप्रसाद शर्माकी श्रीमती मीना, तिलक चापागाईँकी छोरी पुष्पा र वडा नं. ९ की बिमला किसानकी आमा दीपमायालाई सम्मान गरिएको हो ।

बेपत्तातर्फ वडा नं. २ का सुर्यप्रसाद शर्माकी श्रीमती जशोदा, वडा नं. ७ का सुर्य विककी आमा मैना, सोही ठाउँकी गोरी, प्रमिला र दिलमाया विकका छोरा÷भाइ श्याम सम्मानित हुनुभएको हो ।

सम्मानित व्यक्तित्वलाई नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली र जिल्ला संयन्त्रका सदस्य ज्ञामनाथ गैरेले संयुक्त रुपमा दोसल्ला र अबिर प्रदान गर्नुभएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै शहीद गणेश ढकालकी आमा प्रभाले शहीदहरुको त्याग र बलिदानबाट आजको उपलब्धी हाँसिल भएको बताउनुभयो ।
‘हाम्रा सपुतहरुले क्रान्तिको लागि जीवन सुम्पिए’ उहाँले भन्नुभयो, ‘शहीदहरुको उचित सम्मान हुनुपर्छ, सपना साकार बनाउनुपर्छ ।’
बेपत्ताका परिवारजनको तर्फबाट बोल्दै जशोदा शर्माले सरकारले बेपत्ताको अवस्था छिटो सार्वजनिक गर्नुपर्ने बताउनुभयो । बेपत्ताका परिवारजनको अवस्था अरुको भन्दा पीडादायी रहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपाका नेता इन्द्रलाल सापकोटाले देश बनाउन कम्युनिष्ट नेता तथा कार्यकर्ताले नयाँ अठोट लिनुपर्ने धारणा राख्नुभयो । ‘भाषणले समाजवाद आउँदैन’ उहाँले भन्नुभयो, ‘हामी सबै अब उत्पादन प्रणालीमा जोडिन आवश्यक छ ।’
कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सचिव नेपालीले जनयुद्ध र जनआन्दोलनको जगमा आजको परिवर्तन सम्भव भएको विचार राख्नुभयो ।
‘समयले विभिन्न कालखण्डमा विद्रोह र क्रान्तिको माग गर्छ’ उहाँले भन्नुभयो, ‘त्यस्तै आवश्यकताले जनयुद्ध जन्मायो ।’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउनुपर्ने उहाँको भनाइ छ ।



















































































































































































































