
बागलुङ। कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि बागलुङ लगाएत देशभर मतदान सम्पन्न भएको छ ।उच्च अदालत बार इकाई बागलुङमा नेपाल बार एसोसिएसनका लागि मतदान भएको हो ।
उच्च अदालत बार इकाई बागलुङ अन्तर्गत बागलुङ, पर्वत र म्याग्दीका १ सय ६ मध्य ९६ मत खसेको निर्वाचन केन्द्रका संयोजक केशवराज पराजुलीले जानकारी दिनुभएको छ ।
मतदान बिहान ८ बजेबाट सुरु भई अपरान्ह ४ बजे सम्म जारी रहेको थियो । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।निर्वाचनमा सत्तारूढ नेकपा निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् ।
मतगनणाको लागि मतपेटिकालाई काठमाडौँ पठाइएको अधिवक्ता पराजुलीले जानकारी दिनुभएको छ ।देशभरिमा कुल १० हजार ३ सय १३ मतदाता रहेको बार एसोसिएसनमा संघीय राजधानी काठमाडौँ उपत्यकाभित्र ६ हजार पाँच सय र बाहिर तीन हजार ८ सय १३ जना सदस्य छन् ।