बागलुङ । गलकोट नगरपालिकाले आफ्नो क्षेत्रमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल गर्ने भएको छ ।
नगर कार्यपालिका बैठकले स्थानीयको आवश्यकता मध्यनजर गरी गलकोटमा ३ संस्था माग गर्ने निर्णय गरेको नगरप्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । यसका लागि नगरप्रमुख भरत शर्मा गैरेको नेतृत्वमा टोली खटाइने उनले बताए ।
बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम, बजेट योजना तर्जुमा, विषयगत समितिको संयोजक गठन, जग्गा प्राप्ति गर्न अधिकार तोक्ने निर्णयसमेत भएको छ ।
त्यस्तै बालविकास केन्द्रका सहजकर्तालाई पोसाक सुविधाका लागि जनही ४ हजार उपलब्ध गराउने, शिक्षा, युवा, तथा खेलकुद शाखाका लागि जनशक्ति व्यवस्थापन, आगामी वैशाख २२ देखि विषयगत समितिका सरोकारवालाबीच अन्तरक्रिया, गलकोटमा बाढीले पु¥याएको क्षति तथा विपद् व्यवस्थापन समितिको बैठक अनुमोदन, नगरभित्रका खानेपानी मुहान दर्ता, चैत महिनाको योजना फरफारकलगायत विषयमा छलफलसहित निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।



















































































































































































































