बागलुङ । काठेखाेला गाउँपालिकाका अध्यक्ष अमर थापाले अहिले देशमा चलिरहेको असारे विकासलाई अन्त्य नगरेसम्म देशमा दिगो विकास हुन नसक्ने बताए ।धौलागिरी संचार क्लब बागलुङले आयाेजना गरेको समसामयिक साक्षात्कार कार्यक्रमकाे २८ औं श्रृङखलामा अध्यक्ष थापाले काठेखाेला गाउँपालिकामा यो वर्षको विकास निर्माण बैशाख मसान्तसम्म सक्ने तयारी गरिरहेको बताए ।
नेपालमा अहिले पनि अघि पछि काम नगर्ने, जब असार लाग्छ, तब काम शुरूवात गर्ने अनि भएको बजेट सक्ने परिपाटी रहेको बताए। यस्तो परिपाटीले बजेट खेर गैरहेकाे हुँदा यसलाई ब्रेक गर्न आफुहरू लागिपरेकाे थापाले साक्षात्कार कार्यक्रम बताए ।
काठेखाेला गाउँपालिकामा रहेको प्रसिद्ध रामकाेट मन्दिर ओझेलमा परेको बताउदैं यसको प्रचारप्रसार गर्न सके यहाँ हजारौं धार्मिक पर्यटक आउने अध्यक्ष थापाले बताए । अहिले गाउँपालिकामा आलु, सुन्तला लगायतका खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउँने कामकाे शुरूवात भएको हुँदा अब यस क्षेत्रका कृषकले राम्रो आम्दानी गर्ने उनलेे बताए ।
गाउँपालिकाले यस वर्ष २५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यो पूरा भएको र विकासमा जनताको प्रत्यक्ष सहभागिता पनि बढेको थापाले बताए । अहिले गाउँपालिकामा विकास निर्माण लगायतका काम विभिन्न क्षेत्र बाट भए पनि आफुहरूसँग कुनै किसिमको समन्वय नहुँदा त्यसले अन्याैलता सृजना गरेको अध्यक्ष थापाले गुनासो गरे ।
धौलागिरी संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत संचार क्लबकी सदस्य सृजना पन्तले र कार्यक्रम संचालन क्लबकी काेषाध्यक्ष काेपीला कँडेलले गरेकी थिइन् ।



















































































































































































































