६ जेष्ठ २०८१, आईतवार

 

छानो उडाउँदा एक महिना देखि पठन–पाठन प्रभावित

बागलुङ (गलकोट)- जिल्लाको जैमिनी नगरपालिका–५ विनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाहुरीले उडाउँदा महिना दिन देखि पठन पाठन प्रभावित भएको छ ।

यही वैशाख ३ गतेको हावा हुरीका कारण विद्यालयको दुई कोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनी पठन पाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बालविकास भवनको बराण्डामा र घाम लाग्दा खुला आकाशमुनि पठन पाठन गराउँदैं आएको विद्यालयका प्रधानध्यापक रामु विकले बताउनुभयो । ‘विद्यालयको छाना उडाएको महिना दिन वित्न लाग्यो सम्बन्धित निकायलाई जानकारी गराएका छौं,’ प्रधानध्यापक वि.क. ले भन्नुभयो ‘हाल सम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा इकाई कतैबाट सहयोग भएको छैन ।’

विद्यालयको दुई कोठे छानो उडाउँदा भवनको गाह्रो समेत चिरा परेको हुँदा जरैवाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको वि.क.ले बताउनुभयो । उहाँले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हाल सम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठन पाठन गराउन निकै समस्या भएको हो ।

नगर स्तरीय विपद् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरी सकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने जैमिनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

हावा हुरीले दुई र तीन कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षा कोठाको छानो उडाएको हो । विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाश मुनि र बालविकास भवनको वराण्डामा त कहिले दुई वटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पठाउनु पर्ने बाध्यता रहेको शिक्षिका दिक्षा शर्माले बताउनुभयो ।

हावाहुरीले उडाएको कक्षाकोठा संगैको एक कोठे भवन समेत भुकम्पका कारण चिरा परेका कारण जोखि मोलेर अध्यन अध्यापन गराउनु पर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बालविकास देखि ५ कक्षा सम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी रहेकोमा जम्मा ७ जना मात्र गैह दलित विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्