३ जेष्ठ २०८१, बिहीबार

 

पाकिस्तानसँग इङ्ल्यान्ड १४ रनले पराजित

इङ्ल्यान्डलाई घरेलु मैदानमै १४ रनले हराउँदै पाकिस्तानले क्रिकेट विश्वकप–२०१९ मा जितको खाता खोलेको छ । नटिङघमस्थित ट्रेन्ट ब्रिज स्टेडियममा सोमबार राति भएको खेलमा पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रनमा समेटियो ।

एकदिवसीय क्रिकेटमा पाकिस्तानको यो ११ म्याचपछिको पहिलो जित हो । यसअघि पाकिस्तानले गत जनवरी २७ मा दक्षिण अफ्रिकालाई हराएको थियो । सोमबारको खेलमा इङ्ल्यान्डले टस जितेर पाकिस्तानलाई ब्याटिङका निम्तो दिएको थियो । पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको हो ।

पाकिस्तानले विश्वकपमा तीन सय रन कटाएको यो छैटौंपटक हो । उसले पहिलोचोटि १४ जुन १९७५ मा यही मैदानमा श्रीलंकाविरुद्ध ६ विकेट गुमाएर ३३० रन बनाएको थियो । त्यसपछि १९८३ मा श्रीलंकाविरुद्ध नै ३३८, २००७ मा जिम्बाब्वेविरुद्ध ३४९, २०११ मा केन्याविरुद्ध ३१७ र २०१५ मा युएईविरुद्ध ३३९ रन बनाएको थियो । वल्र्डकपमा ३ सय रन कटाएका सबै खेलमा पाकिस्तानले जित हासिल गरेको छ ।

सोमबार रातिको खेलमा पाकिस्तानका वहाब रियाज सबैभन्दा सफल बलर रहे । उनले ८२ रन दिएर ३ विकेट लिए । शादाब खानले ६३ र मोहम्मद आमिरले ६७ रन दिएर २–२ विकेट लिए । मोहम्मद हफिज र शोयब मलिकले १/१ विकेट लिए । पाकिस्तानका तर्फबाट सबैभन्दा बढी ८४ रनसमेत बनाएका हफिज म्यान-अफ-द म्याच चुनिए ।

इङ्ल्यान्डका दुई खेलाडीले शतक बनाए पनि हार टार्न सकेनन् । जोस बटलर ७६ बलमा १०३ रन बनाएर आउट भए । उनले ३४ बलमा अर्धशतक र ७५ रनमा शतक पूरा गरेका थिए । यो शतक जारी प्रतियोगिताकै दोस्रो हो भने बटलरका लागि वर्ल्डकपमा पहिलो र अन्तर्राष्ट्रिय एकदिवसीयमा नवौं ।

दस चौका र एक छक्काको मद्दतमा १०४ बलमा १०७ रन बनाएका जो रुटको भने विश्वकपमा यो दोस्रो शतक हो । शादाब खानको बलमा मोहम्मद हफिजबाट क्याच आउट हुनुअघि रुटले ढठ बलमा शतक पूरा गरेका थिए । जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका उनको यो शतक एकदिवसीय अन्तर्राष्ट्रियमा उनका तर्फबाट चौधौं हो । उनले विश्वकपमा पहिलो शतक सन् २०१५ मा श्रीलंकाविरुद्ध बनाएका थिए । त्यति बेला उनले १२१ रनको पारी खेलेका थिए ।

इङ्ल्यान्डका तर्फबाट बेन स्टोक्सले १३, कप्तान इयान मोर्गनले ९, जोनी बेयस्र्टाेले ३२, जेसन रोयले ८ रन मात्र बनाउन सके । पाकिस्तानका अन्य खेलाडीमा बाबर आजमले ६३, कप्तान सरफराज अहमदले ५५, फख्र जमानले ३६, इमाम–उल–हकले ४४, असिफ अलीले १४ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्