४ जेष्ठ २०८१, शुक्रबार

 

मेयर चाैधरीले ताेके पत्रकारको नाकको मूल्य १ करोड ! (भिडियो)

काठमाडौं । 

पत्रकारको नाक भाँचिदिन्छु भन्नुहुन्छ, तपाईं जनप्रतिनिधि होइन र ?
तपाईंले सिकाउनुपर्दैन, योभन्दा अगाडि पनि जनप्रतिनिधि भइसकेको मान्छे हुँ, भ्रष्टाचारीलाई फूलमाला लगाउन भएन ।

मार्छु, काट्छु भन्ने नियम छैन नि ?
जुन पत्रकार छ उसलाई चाटुकार पत्रकार भनेको छु । सिकाउन पर्दैैन । माओ, लेनिनले कसरी सिकाएका थिए ? म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ ।

तपाईं महान् भए पनि पत्रकारलाई काट्छु, नाकको डाँडी भाँच्न एक करोड छुट्ट्याउँछु भन्ने अधिकार छैन ।
त्यसो भए मेरो अधिकार कटौती गर्नुहोस् । कान खोलेर सुन्नुहोस्, त्यो पत्रकार छ उसले डेढ वर्षदेखि कस्तो तरिकाले कलम चलाएको छ । अब मेरो लक्ष्य पत्रकारलाई कालो मोसो दलेर सडकमा ल्याउने हो । राम्रो काम गर्दै छु, म नेकपाको कार्यकर्ता हुँ, पार्टीले केही गर्दैन ।

०००

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई सार्वजनिक रूपमै ज्यान मार्ने धम्की दिएको विषय अहिले चर्चामा छ । दुई साताअघि पत्रकार कृष्णबहाव भट्टराईलाई सार्वजनिक स्थलमा लोप्पा खुवाएर विवादमा आएका चौधरीले मंगलबार मात्रै अर्का पत्रकार विराट अनुपमलाई फोनमा धम्क्याएर मार्ने धम्की दिएपछि उनी थप विवादित भएका छन् ।

उनले पत्रकार अनुपमलाई फोनमा ‘नाकको डाँडी भाँचिदिने र त्यसका लागि एक करोड’ छुट्याएको अभिव्यक्ति दिएका छन् । भ्रष्टाचारी र घुसखोरी गर्ने सबैलाई कारबाही गर्ने भन्दै उनले अबको मिसन पत्रकारको नाकको डाँडी भाच्ने र कालो मोसो दल्ने भएको बताएका छन् ।

यसअघि इटहरीका एक पत्रकारलाई पत्रकारिता पेसाबाट विस्थापित गराएको उनले आफैं खुलासा गरेका छन् । तर ती पत्रकार को थिए भन्ने खुलाएका छैनन् । आफू कानुनभन्दा पनि माथि रहेको हवाला दिँदै मेयर चौधरीले भने, ‘म नेकपाको कार्यकर्ता हुँ, पार्टीले मलाई केही गर्दैन । नेकपानिकट व्यक्तिलाई सार्वजनिक ठाउँमा कुटपिट पनि गरेको छु ।’ मेयर चौधरीको यस्तो गतिविधिको नेपाल कम्युनिस्ट पार्टीकै नेताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेकपामा कसले के भने ?

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले मेयरले आफ्ना भनाइबारे सार्वजनिक रुपमा आत्मालोचित हुनुपर्ने बताएका छन् । पत्रकार र कतिपय व्यक्तिबारे मेयर चौधरीबाट व्यक्त धारणा उनको सार्वजनिक पद र जनप्रतिनिधिका हिसाबले कदापि नसुहाउने भट्टराईको भनाइ छ । ‘केही दिनयता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिबारे सार्वजनिक गरे अभिव्यक्ति स्वयं उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी नेकपा र उहाँकै राजनीतिक उचाइका लागि कदापि सुहाउँदैन,’ उनले भनेका छन्, ‘तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रूपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारिकालाल चौधरीलाई विनम्र अनुरोध गर्दछु ।’

नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेयर चौधरी हकी स्वभावका भए पनि पार्टीको मान्यताबारेमा उनका बुझाइ गलत रहेका बताएका छन्।

मेयरको धम्कीप्रति पत्रकार महासंघको विरोध

नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

मंगलबार पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’, भनेर धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानूनको समेत उपहास भएको महासंघको ठहर छ ।

 

पत्रकारसँग गरेकाे कुराकानी सुन्नुहाेस् :

सिधाकुरासँगकाे कुराकानी 

 

प्रतिक्रिया दिनुहोस्