१४ कार्तिक २०८३, शुक्रबार

 

बुर्तिबाङमा ‘नयाँ सहर’को काम सुस्त

मध्यपहाडी लोकमार्गमा विकास गरिने भनिएका दस नमुना सहरमध्ये बुर्तिबाङमा अपेक्षाकृत काम नहुँदा स्थानीय निराश छन् ।
२०६८ सालदेखि सुरु भएको आयोजनामा बर्सेनि करोडौँ बजेट विनियोजन भइरहेको छ । एक लाख जनसंख्या बस्न मिल्ने गरी विकास पूर्वाधारले सम्पन्न बनाउने अभियान थालेको सरकारले नयाँ सहरमा प्रभावकारी काम नदेखाएको स्थानीय दलबहादुर भण्डारीको गुनासो छ ।

बुर्तिबाङमा २०७०/७१ देखि विकास निर्माण र जग्गा खरिद थालेको नयाँ सहर आयोजनाले हालसम्म विभिन्न विकासका काम गरिरहेको छ । तर विनियोजित बजेट र जनताको महत्वपूर्ण आवश्यकतालाई मुख्य प्राथमिकताका साथ समेट्न सकेको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न १८ योजनाका निम्ति रू. ११ करोड १० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममध्ये यस वर्ष करिब साढे दुई करोडको मात्र काम हुने र बाँकी फिर्ता जाने नयाँ सहर अयोजना बुर्तिबाङका उपआयोजना प्रमुख अभिषेक अधिकारीले बताए ।

चालू आर्थिक वर्षको हालसम्म १ करोड ३४ लाख, ४८ हजार ५० रुपैयाँ लागतमा निसिभुजी जनता क्याम्पसदेखि अस्पतालसम्मको बाटो स्तरोन्नति, १ करोड ४९ लाख ९६ हजार ९ सय २२ रुपैयाँ १ पैसा लागतको बुर्तिबाङ उपल्लो बजारदेखि बसपार्कसम्म भित्री सडकको स्तरोन्नति र ५६ लाख ११ हजार ६ सय २४ रुपैयाँ ६४ पैसा लागतको वरपीपलदेखि तल्लो नयाँ बस्तीसम्मको ढल निर्माण कार्य हुँदै छ ।
बहुवर्षीय योजना भएकाले यो असार मसान्तसम्म यी तीनै योजना सम्पन्न हुने देखिँदैनन् ।

विभिन्न १८ योजना निर्माणका निम्ति बजेट विनियोजन गरिएकोमा ५ वटा योजनाको भर्खरै मात्र टेन्डर खोलिएको छ । यिनको काम आर्थिक वर्ष २०७६/७७ देखि मात्रै हुने भएको छ । अन्य बाँकी योजनाको टेन्डरसमेत हुन सकेको छैन । यस आधारमा यस वर्ष कुल बजेटको १० प्रतिशत हाराहारी मात्र काम हुने देखिन्छ ।

यस वर्ष संघले प्रदेशलाई हेर्ने जिम्मा दिने तयारी गरे पनि पुनः संघमै जिम्मेवारी फिर्ता भएका कारण कार्यसम्पादनमा केही महिना ढिलाइ हुनुका साथै मोटो रकमका योजना भएकाले टेन्डर प्रक्रियामै समय लागेको आयोजना बुर्तिबाङ नयाँ सहर कार्यालयका इन्जिनियर कमल शाहले बताए ।

हाल टेन्डर भएका योजनामा मध्यपहाडी लोकमार्गदेखि निसीभुजी जनता क्याम्पससम्म सडक स्तरोन्नति, वरपीपलदेखि भब्रेटासम्म सिँढी निर्माण, लोकल एरिया मास्टर प्लानअन्तर्गत बुर्तिबाङ बजारमा ढल निर्माण, नयाँ सहर आयोजना कार्यालयको कुत्थाप्ला भवनलाई थप गर्ने, बुर्तिबाङमा रहेको मन्दिरदेखि पुरानो बजार हुँदै उपल्लो बजार पुल्चोकसम्म मोटरबाटो ढलान, टारीखेत–सलामकोट– तुसारे–खल्बाङ मोटरबाटो सर्वेक्षण र टारीखेतदेखि कुत्थाप्ला हुँदै नयाँ सहर आयोजना कार्यालय जाने मोटर बाटो सर्वेक्षणलगायत छन् ।

त्यस्तै आयोजना कार्यालयका निम्ति फर्निचर तथा फिक्स्चर, बुिर्तबाङ नयाँ सहरमा जग्गा खरिद, मेसिनरी औजार खरिद, आईडीपीअनुसार पूर्वाधारको डीपीआर तयार गर्ने काम बाँकी छ । विभिन्न शाखा सडक स्तरोन्नति, ढल व्यवस्थापनलगायत योजनासमेतको कार्यसम्पादन बाँकी छ ।

अधिकांश योजना बहुवर्षीय भएका कारण यस वर्ष रकम फिर्ता भए पनि आगामी वर्ष छनोट भएका र केही थप भएर आउने योजना सम्पादनका निम्ति बजेट पनि थपिएर आउने उपआयोजना प्रमुख अधिकारीको भनाइ छ ।

बुर्तिबाङमा हालसम्म भएका प्रगति

आव २०७०/७१ मा ढोरपाटन–२ (साबिक बुर्तिबाङ–२ कुत्थाप्ला) मा १४ रोपनी १५ आना ३ पैसा जग्गा खरिद भएको छ । त्यस्तै आव २०७१/७२ मा भब्रेटामा ३५ रोपनी ९ आना १ दाम जग्गा किनिएको छ ।

खप्तरीबाङ निसीभुजी जनता क्याम्पससम्म सडक स्तरोन्नति, सोरबोटदेखि भब्रेटासम्म सडक स्तरोन्नति, दुलेदेखि बोङगादोभान जाने मोटरबाटो निर्माण, बुर्तिबाङ–रिनाम–भियाँलखर्क, चोडेल्ना, बोराथरी र बिस्मोरसम्म मोटरबाटो सर्वेक्षण, वरपीपलदेखि भब्रेटासम्म सिँढी निर्माण, भगवती मन्दिरदेखि मिलनचोकसम्म ढल निर्माणजस्ता काम भएका छन् ।

त्यस्तै आव २०७४/७५ मा खप्तरीबाङमा बसपार्क निर्माणका निम्ति ६ रोपनी २ आना ३ पैसा जग्गा खरिद भएको छ । उक्त जग्गा हाल प्रयोजनमा छैन । त्यसको थप व्यवस्थापनसमेत हुन नसकेको हो । लोकल एरिया मास्टर प्लानअन्तर्गत बुर्तिबाङ बजारमा स्थानीय उपभोक्ताको सहकार्यमा ढल निर्माण, ढोरपाटन–२ को पाखुतेदेखि काल्लेरी खोला मोटरबाटो सर्वेक्षण, नयाँ सहर आयोजना कार्यालयको कुत्थाप्लामा भवन निर्माण भएको छ । कत्थाप्लाको भवन हाल प्रयोगविहीन छ । उक्त भवनमा तला थपेर मात्र कार्यालय सञ्चालमा आउने बताइएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गदेखि निसीभुजी जनता क्याम्पससम्मको बाटो ढलान, बुर्तिबाङ १ भब्रेटामा खेलमैदान, बुर्तिबाङमा सार्वजनिक शौचालय, भब्रेटामा गुम्बा निर्माण, सार्वजनिक धारा निर्माणका निम्ति सर्वेक्षण कार्य भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले जनाएको छ ।

चार वर्षको अवधिमा बुर्तिबाङमा तत्काल देखिने खालका कालोपत्रे, शाखा सडक व्यवस्थापन, पार्क, खानेपानीजस्ता देखिने विकास नभएको अधिकांशको ठहर छ । नयाँ सहरको विकासका निम्ति आयोजना, स्थानीय सरकार र स्वयं जनताबीच समन्वय हुन सके आयोजनाले थप सार्थकता पाउने देखिन्छ । जिम्मा पाएका कम्पनीले निर्धारित समयमा काम नगरेकै कारण योजना समयमा सक्न समस्या हुने गरेको आयोजनाका इन्जिनियर कमल शाहको भनाइ छ ।

स्मार्ट सिटीमा आधुनिक पूर्वाधार, सूचनाप्रविधि, मनोरञ्जन पार्क, खुला क्षेत्र, बगैँचा, खेलकुद मैदान, व्यवस्थित शौचालयलगायत सुविधा हुनुपर्नेछ । मध्यपहाडी लोकमार्गमा पर्ने नयाँ सहर निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गको अवधारणासँगै विभिन्न स्थानमा सुविधासम्पन्न सहर विकास गर्ने सरकारको एक दशकअघिको घोषणा थियो ।

मध्यपहाडी लोकमार्गमा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम–कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्रीमा नयाँ सहर निर्माण भइरहेको छ । मन्त्रालयले चालू आर्थिक वर्ष नयाँ सहर तथा स्मार्ट सिटीका लागि २ खर्ब बजेट विनियोजन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung