१ जेष्ठ २०८१, मंगलवार

 

एनआरएनए नेतृत्वलाई साख जोगाउने चुनौती

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्वसम्मेलनअन्तर्गत भएको निर्वाचनमा कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । निकै तामझामसाथ सुरु भएको सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे पनि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको अनुपस्थितिले खल्लो साबित भयो ।

यसअघि दुईपटकसम्म संस्थाको उपाध्यक्ष रहेका पन्तको पुख्र्यौली थलो गोरखा हो । हाल उनी मध्यपूर्वमा बसेर व्यापार–व्यवसाय गर्छन् । यसअघि नै अध्यक्षका लागि तयारी गरे पनि पूर्वअध्यक्षहरूले संस्थाको गरिमा जोगाउन थप एक कार्यकाल उपाध्यक्षमा बसेर काम गर्न सुझाएपछि त्यति बेला पछि हटेको उनले बताउने गरेका छन् ।

अहिलेसम्म एनआरएनए भनेको विदेशमा बसेर स्वदेशमा लगानी गर्न सक्ने संस्थाका रूपमा बुझिँदै आएको थियो । तर यसपटकबाट त्यो बुझाइमा पनि परिवर्तन आएको छ । पहिलो त संस्थाले गर्ने निर्णयमा आर्थिक पारदर्शिताको विषय उठ्यो । बालुवाटार जग्गा प्रकरणमा एनआरएनए जोडिनु आफैंमा दुर्भाग्य हो ।

दोस्रो, समाचारमा आएअनुसार विभिन्न परियोजनामा सरकारसँग साझेदार रहेको प्रचारप्रसार गर्दै आएको एनआरएनएले सम्मेलनका लागि पटक–पटक सरकार गुहार्नु । सम्मेलनमा देखिएको चरम बेथिति र गुटबन्दीले संस्थाको गरिमा नै भत्किन पुग्यो । सम्पन्न निर्वाचन दलीय आस्थाका आधारमा भएको पुष्टि संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको अनुपस्थितिले गरेको छ । त्यसअतिरिक्त दलीय आस्थाका आधारमा उम्मेदवार खडा हुनुले यो संस्थाको गरिमा भत्किएको हो ।

संस्थामा दुई–चार जनाबाहेक रोजगारीका सिलसिलामा विदेश गएका र उतै पलायन भएकाहरूको आधिपत्य देखिन्छ । उनीहरूसँग न स्वदेशले ज्ञान, सीप, लगानी, संस्कार र सभ्यता केही पाउन सक्ने अवस्था छैन । त्यस्ता पदाधिकारी र समितिका सदस्यहरूबाट संस्थाको गुमेको साख कसरी फर्काउलान् ? संस्थाको छवि नै बिग्रिएका बेला नवनिर्वाचित अध्यक्ष पन्तले कसरी गरिमा कायम गर्न सक्लान् ? चुनौतीको विषय छ ।

यसअघि संस्थाको अग्रसरतामा गरिएका केही सामान्यबाहेक उल्लेखनीय काम एनआरएनएले गर्न सकेको छैन । संस्थाका केही पूर्वअध्यक्षहरुले चलाएका व्यवसायसमेत विवादित बन्दै गएका छन् । त्यस्तो अवस्थामा अध्यक्ष पन्तले देशवासी र मातृभूमिसामु आफ्नो र संस्थाको पृथक् पहिचान कसरी बनाउलान्, प्रतीक्षाको विषय भएको छ । उनले संस्थाका तफर्बाट विगतमा आर्जित गरिमा मात्र कायम गर्न सके पनि सफल हुनेछ । उनले आफ्नो कार्यकाल सफल भनेर दाबी गर्न सक्ने गरी समाजिक उत्तरदायित्वका क्षेत्रमा नमुना कार्य गर्न सकून् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्