२४ बैशाख २०८१, सोमबार

 

चौथो गरिमा क्रिकेट कप उपाधि फ्युचरलाई

गरिमा आवासीय बिद्यालयद्धारा जिल्लामा आयोजित चौथो गरिमा क्रिकेट कप च्यापियनसिपको उपाधि फ्युचर ब्राइटर आवासिय बिद्यालयले जितेको छ ।

आइतबार बांगेचौर खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको गरिमा आवासीय बिद्यालयका खेलाडी विजय विकले अर्धसतकीय पारी खेले । उनले ५८ रनको योगदान दिए पनि जितका लागि प्रयाप्त हुन सकेन । गरिमाका लागि पासिङ पुनले १८ रन सहित अन्यले झिनो रन जोडे । र गरिमाले कुल १ सय १५ रनको लक्ष्य दियो ।

१५ ओभरको खेलमा फ्युचरले लक्ष्य पछ्याउने क्रममा ११ दशमलब ४ ओभरमा समेट्यो । उसले तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । फ्युचरको जितमा रमेश बस्नेतले नट आउट ५६ रनको योगदान सहित उत्कृष्ट खेल पस्के । अर्का खेलाडी दिपक कुवरले पनि नट आउट ३८ रन बनाउदाँ फ्युचरले सहज जित हासिल गरेको थियो ।

जितसँगै फ्युचरले नगद ४४ हजार ४ सय ४४ र उपबिजेता बनेको आयोजक गरिमाले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।खेलमा म्यान अफ दि फाइनल तथा बेस्ट ब्याट्समेन रमेश बस्नेत, बेस्ट बलर राजु थापा, इमरजिङ बेष्ट प्लेयर कुडुँले माविका जसविन थापा हुनुभएको खेल संयोजक बलराम केसीले जानकारी दिनुभयो । खेलमा मेन आफ द सिरिजको उपाधि बिजय विकले हासिल गर्नुभयो ।

बिजेता समूहलाई प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले पुरस्कार बितरण गर्नु भयो । पुरस्कार बितरण पछि बोल्दै नगर प्रमुख पौडेलले नीजि स्तरबाट क्रिकेट खेलको विकास र प्रर्वद्धनका लागि गरिएको प्रयास सह्रानिय भएको बताउनुभयो ।

कार्यक्रममा फ्युचर ब्राइटर आवासिय बिद्यालयका प्रिन्सिपल बालकृष्ण शर्मा, बानपा ४ का वडा अध्यक्ष धुव्रबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गरिमा आवासीय माविका प्रिन्सिपल श्यामप्रसाद शर्माको अध्यक्षता र गणेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुड नगर पालिका वडा नं २ ,श्रीनगर टोलमा रहेको गरिमा आवासीय मावि तथा डिग्नीटि कलेजले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको बहुआयामिक विकास र बागलु्डको क्रिकेट खेलको व्यवसायीक विकासमा महत्वपूर्ण योगदान दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्