६ जेष्ठ २०८१, आईतवार

 

खेल विश्लेषण : महिला फुटबलको रोमाञ्चक रजत यात्रा

सन् २०१६ को ‘१२ औं साग गेम्स’मा भारतलाई २–१ ले हराउँदै पुरुष फुटबलले स्वर्ण पदक जितेपछि देशैभरि नेपाली फुटबलको चर्चा चुलियो । दुई दशकपछि फुटबलमा स्वर्ण जितेको नेपाली टिमले सबैको स्याबासी पायो ।

तर त्यही समयमा भएको साग महिला फुटबलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमै चित्त बुझाउनुपर्यो । नेपाली चेलीहरूको त्यो सफलताको त्यति चर्चा भएन । आज तीन वर्षपछि नेपालमै भइरहेको १३ औं सागमा पनि अवस्था उस्तै छ । नेपाली महिला फुटबल टिमले फेरि भारतसगै फाइनलमा पराजित भएर रजत पदकमा चित्त बुझाउनु परेको छ ।

पुरुष फुटबल टोलीको फाइनल मंगलबार हुँदैछ । अब नेपाली फुटबलप्रेमीको ध्यान मंगलबार हुने नेपाल र भुटानबीचको फाइनलमा केन्द्रीत छ । तर सोमबार भएको भारतसँगको हारबारे चर्चा गर्ने फुर्सद कसैलाई छैन ।

भारत तगारो
नेपाली महिला फुटबल टोलीलाई एउटै तगारो केही छ भने त्यो भारत नै हो । महिला फुटबलमा नेपालले भारतलाई आजसम्म हराउन सकेको छैन । बरु ११ औं साग, १२ औं साग र १३ औं सागमा नेपाली महिला फुटबल टिम भारतसँग हारेको छ ।

गत चैतमा विराटनगरमा भएको साफ वुमन च्याम्पियनसीपको फाइनलमा पनि नेपालका लागि भारत नै तगारो बन्यो । उक्त फायनल खेल नेपालले ३–१ गोलले गुमायो । यसबाहेक विभिन्न प्रतियोगिताका लिग चरणका खेलमा पनि नेपाली महिला फुटबल टिम भारतसँग पराजित हुँदै आएको छ । अहिलेकै सागमा पनि मंसिर २१ गते भएको लिग चरणको खेलमा भारतसँग नेपाल १–० ले पराजित भयो । यसको तीन दिनपछि फाइनलमा नेपाल २–० ले पराजित भयो ।

शानदार प्रदर्शन तर नतिजा पुरानै

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गर्यो । सरु लिम्बूको गोलमा नेपालले श्रीलङ्कालाई हराउन सफल भयो । यस्तै दोस्रो खेलमा फरवार्ड सावित्री भण्डारीको ह्याट्रिकमा नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । यसपछिको तेस्रो खेलमा भने नेपाल भारतसँग १–० ले हार्यो ।

लिग चरणको खेलमा भारतसामु हार बेहोरे पनि नेपाली टिमको खेल निकै आक्रामक थियो । फरवार्ड सावित्रा भण्डारी, सरु लिम्बू र अनिता बस्नेतको एकपछि अर्को प्रहार विफल भएपनि नेपाले टिम गेम खेलेको थियो । दोस्रो खेलमा ह्याट्रिक गरेकी भण्डारीको नाममा कीर्तिमानी ३७ गोल पुगेको छ । उनले पूर्व कप्तान अनु लामाकाृ नाममा रहेको ३५ गोलको कीर्तिमान भङ्ग गरिन् ।

१३ औं सागका ४ वटै खेलमा नेपालले राम्रो प्रदर्शन गर्यो । टिम गेम खेल्न अग्रसर देखिएको नेपाली टोलीको पासमात्र होइन, अट्याक पनि उस्तै लोभलाग्दो थियो । रक्षापंक्तीमा केही कमजोर देखिएको नेपाली टोलीको मिडफिल्डमा राम्रो पकड थियो । अनिता बस्नेत, गीता राना मिडफिल्डमा राम्रो खेलिरहेका थिए । तर सोचेअनुरुपको तालमेल नमिल्दा नेपाल गोल गर्नबाट चुकेको देखिन्थ्यो ।

नेपाली टिमका मुख्य खेलाडीहरूमा गोलकिपर एन्जिला सुब्बा, पुनम जर्गा मगर,अमृता जैशी, हिरा कुमारी भुजेल, रेनुका नगरकोटी, सावित्रा भण्डारी, अनिता बस्नेत, गीता राना, निरु थापा, अन्जली कुमारी वाइबा र दिपा राई थिए । प्रशिक्षकमा नेपालका पूर्व सुपरस्टार फरवार्ड हरि खड्का थिए ।

फाइनलमा हार व्यहोरेपछि प्रशिक्षक खड्काले राजिनामा दिएका छन् । यस्तै खेलाडीहरू निरु थापा र मनमाया लिम्बुले पनि राष्ट्रिय टिमबामट सन्न्यास लिएका छन् । फरवार्ड थापा र डिफेन्डर लिम्बु अनुभवी खेलाडी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्