३ श्रावण २०८३, आईतवार

 

मोदीले गरे अयोध्यामा राम मन्दिर शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा राम मन्दिर शिलान्यास गरेका छन्। मोदीले चाँदीले निर्मित पाँचवटा इटाँ दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा राखेका हुन् ।भगवान् रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगीन बाबरी मस्जिद भत्काएको थियो।

त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो। दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भने, ‘५ सय वर्ष लामो र कडा संघर्ष लोकतान्त्रिक र संविधानसम्मत तरिकाले सम्पन्न भएको छ।’

भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरु रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्। ‘राम मन्दिर निर्माणको कार्यक्रम देख्न पाउनु भारतको सौभाग्य हो। देशमा रामराज्य स्थापित गर्न पतञ्जलि योगपीठले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउनेछ,’ उनले भने, ‘संसारभरबाट अध्यात्म र आयुर्वेद अध्ययन गर्न मानिसहरू त्यहाँ आउन सक्नेछन् ।’

कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी–लेनिनवादी) ले भने प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यास कार्यक्रममा भाग लिएकोमा प्रश्न उठाएको छ। उसले ट्विटरमा राज्यलाई धर्मबाट अलग राखिने भारतीय संविधानको भावनालाई सम्मान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung