३ श्रावण २०८३, आईतवार

 

पञ्चकोटमा १३५ फिट अग्लो कलश धमाधम बन्दै

बागलुङमा बन्दै गरेको १३५ फिट अग्लो विश्व शान्ति गण्डकी कलशको काम तीव्र रुपमा अघि बढाइएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले बागलुङ नगरपालिका–६ पञ्चकोटमा कलश बनाइन लागेको हो ।

कलशको भुइँतलाको काम लकडाउनकै बीच अगाडि बढाइएको सर्वसिद्धिधाम पञ्चकोटका प्रतिनिधि अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । ‘अहिले फाउन्डेसनको काम भइरहेको छ,’ उनले भने, ‘यस वर्षभित्र पहिरो तल्लाको काम सक्ने लक्ष्य छ ।’

तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गरेका थिए । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तनाथ महाघण्टलगायत अन्य पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

बुद्धको देश भनेर चिनिने नेपालमा विश्व शान्ति गण्डकी कलश विश्वभरका धार्मिक पर्यटक भित्र्याउने नयाँ आयाम भएको स्वामी कमलनयनाचार्यले बताए ।

सबै क्षेत्रबाट पर्याप्त रकम जुटे आगामी साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।ट्रस्टका अनुसार संघीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट सहयोग जुटाएर काम भइरहेको छ । पञ्चकोटमा वार्षिक १ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

यहाँ दैनिक ५ सयदेखि हजार जनासम्म घुम्न आउने गरे पनि अहिले कोरोनाको कारण पर्यटक आगमन ठप्प भएको छ । पञ्चकोट धाम निर्माण सम्पन्न भए विश्वभरका धार्मिक पर्यटक बागलुङमा तान्न सकिने पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । कलशसँगै पञ्चकोटमा अन्य विभिन्न धार्मिक संरचना पनि निर्माण भइरहेका छन् ।

करिब १ सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग, गण्डकी माताको मन्दिर, गरुड–शिला, सिसमहल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर, सभा भवन निर्माण भइसकेका छन् ।

५ हजार ५ सय ५५ केजीको महाघण्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटमा सम्पूर्ण संरचनाको निर्माण पूरा हुँदा दुई अर्ब खर्च लाग्ने ट्रस्टको अनुमान छ ।

पञ्चकोटसँगै बागलुङ नगरपालिकाका कारिकोट, माझकोट, रायरायकोट र संसारकोटमा विभिन्न संरचनाको निर्माण थालिएको छ । हालसम्म पञ्चकोटमा २५ करोडभन्दा बढीको संरचना निर्माण भइसकेको छ ।

पञ्चकोटबाट गुर्जा, धवलागिरि, अन्नपूर्णलगायत आधा दर्जन हिमशृंखला देख्न सकिन्छ । यहाँबाट कालीगण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung