२२ भाद्र २०८३, सोमबार

 

विदेशमा रहेका नेपालीलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग, खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्दा ‘व्यापारको मस्तिष्क’ राखेको भन्दै आपत्ति जनाएको छ ।

‘अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दै छ ‘वर्गशत्रु’को व्यवहार ?,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत प्रश्न गरेका छन् ।

प्रवासमा अप्ठ्यारोमा परेका नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भए पनि सरकारले महँगीको भार बोकाएको उनको भनाइ छ । ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु कति न्यायोचित छ ?,’ कांग्रेसको प्रश्न छ ।

चार्टर फ्लाइटको महँगो टिकट काट्नुपर्ने, होटेल क्वारेन्टिनमा सात दिनको खर्च बेहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैं हाल्नुपर्ने सरकारको निर्णय विदेशमा रहेका श्रमिकप्रति ‘वर्गशत्रु’को व्यवहार भएको कांग्रेसको भनाइ छ ।

रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकटको व्यवस्था गरेर निःशुल्क उद्धार गर्न सरकारसमक्ष कांग्रेसले माग गरेको छ । सरकारी खर्चमै क्वारेन्टिन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung