दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं आइपुग्ने तालिका छ । दुबईबाट २ सय ६० भन्दा बढी यात्रु लिएर वाइडबडी काठमाडौं आइपुग्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौं–दुबईका लागि तय भई पछि रद्द भएको उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगस्टका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।
उक्त दिन दुबईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आइतबार उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौं फर्किएको थियो ।
जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए ।
हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५ सय यात्रु नकट्ने गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।
त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ । सरकारी निर्णयअनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।
बैठकले पीसीआर सहज नभएका मुलुकहरू कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ ।
नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ ।
यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
















































































































































































