३ श्रावण २०८३, आईतवार

 

कालिका भगवती मन्दिरमा ६० लाखको स्लेट बिछ्याइयो, यसरी हुँदै छ पूर्वाधार निर्माण

कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाले देशभरका विकास आयोजना प्रभावित भइरहेका बेला नेपालकै प्रसिद्ध धार्मिक गन्तव्य बागलुङ कालिका भगवती मन्दिरमा पूर्वाधार निर्माणको काम थालिएको छ । आगन्तुकको चाप नहुने मौका छोपी मन्दिर परिसरमा स्टेल ढुंगा बिछ्याइएको छ ।

मन्दिरमा बागलुङको ताराखोलामा पाइने स्लेट ढुंगा बिछ्याइएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले नयाँ विश्वलाई बताए । मन्दिरको प्रवेशद्वार परिसर तथा भक्तजन हिँड्ने भित्री बाटोमा ढुंगा बिछ्याइएको हो ।

मन्दिर बागलुङ–पोखरा राजमार्गबाट करिब ७ सय मिटर दुरीमा पर्छ । यसअघि ३ सय २५ मिटर बाटोमा ढुंगा बिछ्याइकोमा बाँकी खण्डमा करिब ६० लाख लागतमा बागलुङमै पाइने स्लेट ढुंगा बिछ्याइएको हो ।

भिडभाड कम हुने अवस्था सदुपयोग गरी मन्दिरमा पूर्वाधार विस्तारको काम तीव्र पारिएको समिति अध्यक्ष खड्काले बताए । काम गर्दा सामाजिक दुरी पालना गर्नुका साथै स्वास्थ्य सुरक्षा अपनाइएको उनले जानकारी दिए ।

सहरी विकास मन्त्रालयको ५० लाख र मन्दिर व्यवस्थापन समितिको १० लाख श्रमदानमा बाटो विस्तार गरिएको समितिका कोषाध्यक्ष निशान खड्काले बताए ।

स्लेट बिछ्याइएपछि मन्दिरमा थप रौनक थपेकाले यसले धार्मिक पर्यटक भित्र्याउन मद्दत पुुग्ने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालको भनाइ छ ।

चैत ११ देखि देशभर लकडाउन भएसँगै भक्तजनलाई प्रवेश गर्न र पूजाआजा गर्न रोक लगाइएको मन्दिरमा दैनिक नित्य पूजा–अर्चना मात्रै हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung