रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा ललितपुरमा प्रहरीलाई ढुंगामुढा गरेको आरोपमा अहिलेसम्म २० जना पक्राउ परेका छन् । घटना भएकै दिन ९ जनालाई पक्राउ गरिएको थियो ।
थप ११ जनालाई पनि पक्राउ गरिएको ललितपुरका प्रहरीप्रमुख एसएसपी टेकप्रसाद राईले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको पनि उनले जानकारी दिए ।
पक्राउ परेकामध्ये ११ जनाको पीसीआर रिपोर्ट आएकामा ६ जनालाई कोरोनासमेत पुष्टि भइसकेको छ । गत बिहीबार प्रशासनको अनुमतिबिनै निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
झडपमा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए । पक्राउ परेका सबैलाई सार्वजनिक अपराधमा मुद्दा चलाइने भएको छ । यसका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।













































































































































































































