पछिल्लो समय सनातन हिन्दू धर्म–संस्कृति र संस्कारमाथि निरन्तर आक्रमण भइरहेको विश्व हिन्दू महासंघ नेपालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा रहेको मुक्तिनाथ वेद विद्याश्रममा हिन्दू धर्म तथा गुरुकुलीय शिक्षामाथि आक्रमण भएको भन्दै महासंघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
विना कारण मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माविमाथि लगाइको आरोपको खण्डन गर्दै समाजमा धार्मिक सहिष्णुता , जातिय एकता र सामाजिक मेलमिलाप कायम गर्न सबैलाई विश्व हिन्दू महासंघले आग्रह गरेको छ ।
विद्यार्थीहरुले जुनसुकै विषयको शिक्षा लिन पाउने मौलिक अधिकारको सबैले सम्मान गर्नु पर्ने महासंघले अनुरोध गरेको
छ ।रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको प्रहरी हस्तक्षेपको पनि महासंघले विरोध जनाएको छ ।
‘ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा तानेर मनाउने क्रममा भएको प्रहरी हस्तक्षेपलगायत देशभर सनातन धर्म, संस्कृतिमाथि भएको प्रहारको महासंघ घोर भत्र्सना गर्दछ,’ अध्यक्ष रामचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सनातन हिन्दू धर्म, संस्कृति र संस्कार जोगाउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ । महासंघले उत्पीडित समुदायले संस्कृत शिक्षा अध्ययन गर्न चाहे गुरुकुलीय परम्परा, आचरण, संस्कार र नीतिमा रही अध्ययन,अध्यापनको वातावरण बनाउन पनि माग गरेको छ ।













































































































































































































