१४ कार्तिक २०८३, शुक्रबार

 

नवनियुक्त जिल्ला प्रहरीप्रमुख श्रेष्ठलाई बागलुङ उद्योग वाणिज्य संघको स्वागत

बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङका नवनियुक्त प्रहरीप्रमुख लोकेन्द्र श्रेष्ठलाई स्वागत गरेको छ । कार्यक्रममा श्रेष्ठले प्रहरीको भन्दा व्यापारीको राम्रो नेटवर्क रहेको भन्दै आवश्यक सहयोग गर्न आग्रह गरे ।‘प्रहरी नपुग्ने ठाउँमा पनि व्यापारी छन्, प्रहरीको भन्दा व्यापारीको बढी नेटवर्क छ,’ उनले भने, ‘त्यसैले उनीहरूले प्रहरीलाई सहयोग गर्न सक्छन् ।’

शान्तिसुरक्षा स्थापना र अपराध नियन्त्रणमा कुनै कमी आउन नदिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । असफलताबीचबाटै सफलता खोज्न सकिने भएकाले जस्तोसुकै परिस्थितिमा पनि सफलता हासिल गर्न सकिने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष युवराज राजभण्डारीले व्यवसायी र प्रहरीबीच सहकार्य गरेर अगाडि बढे दुवै पक्षलाई फाइदा पुग्ने बताए । बागलुङ बजारमा सीसी क्यामेरा जडान गर्ने योजना भए पनि बागलुङ नगरपालिकासँग समन्वय नहुँदा समस्या भएको उनको भनाइ छ । ‘बागलुङलाई अपराधमुक्त बनाउनका लागि प्रहरी प्रशासनलाई सहयोग गर्न संघ सधैं तयार छ,’ उनले भने ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले ‘उद्योगी व्यवसायीको प्रगतिको लागि सबैको आवश्यक सहयोग चाहिएकोले प्रहरी र व्यवसायीविच राम्रो सम्बन्ध हुनु पर्ने’ विचार व्यक्त गरेका छन ।

कार्यक्रममा वाणिज्य संघ बागलुङका पूर्वअध्यक्ष जयराम भारी, महिला उद्यमी संघकी अध्यक्ष भगवती केसीलगायतले कोरोना भाइरसले
उद्योग,व्यवसायमा प्रभाव पारेको हुँदा यसबाट मुक्त हुन सबैले भूमिका खेल्न जरुरी रहेको औंल्याए ।

उनीहरूले जिल्लामा शान्तिसुरक्षा कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने भन्दै यसका लागि प्रहरी प्रशासनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा, संघका महासचिव नरेश कँडेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung