२२ भाद्र २०८३, सोमबार

 

कोरोनाले कोरियामा २५ लाख रोजगारी गुम्यो

नेपालीहरूको आकर्षक रोजगारी गन्तव्य दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीले नराम्ररी प्रभावित भएको छ । कोरोना सुरु भएपछि त्यहाँ झन्डै २५ लाखको रोजगारी गुमेको छ ।

गत अगस्टमा मात्रै २ लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ । यहाँको बेरोजगारी दर गत अगस्टमा ० दशमलव १ प्रतिशतले वृद्धि भएर हाल ३ दशमलव १ प्रतिशत पुगेको छ । यससँगै वित्तीय संकट उत्पन्न भई गत अगस्टमा रोजगारी गुमाउनेको संख्या पछिल्लो आठ महिनायताकै उच्च हो ।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनी पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न लगाउने, सातामा तीन–चार दिन मात्र काममा बोलाउनेजस्ता समस्या निम्तिएको त्यहाँ रहेका नेपालीहरूको भनाइ छ ।

यद्यपि एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदार विशेष गरी नेपालीहरू अझै सुरक्षित रहेको बताए । कम्पनी बन्द भएर बेरोजगार भएको घटना एकाधबाहेक सुन्न नपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung