बागलुङको ढोरपाटन र निसीखोलाका बाढी पहिरोपीडतका लागि संघ र प्रदेश सरकारको तर्फबाट राहत हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक सुरेश न्यौपानेको उपस्थितिमा ढोरपाटन नगरपालिका–९ मा आएको बाढीका कारण ज्यान गुमाएका र बेपत्ता भएका ३७ जनाको परिवारलाई राहत हस्तान्तरण गरिएको हो ।
संघिय सरकारको तर्फदेखि प्रति परिवार दुई लाखका दरले र एकै परिवारका एक भन्दा बढी सदस्य गुमेकालाई मृतक/ बेपत्ता अनुसार थप एकलाख रुपैयाँका दरले परिवारका सदस्यलाई राहत रकम हस्तान्त्रण गरिएको छ ।
त्यसैगरी पूर्ण रुपमा घर क्षति भएका २० परिवारका निम्ती प्रति परिवार १५ हजार रुपैयाँका दरले ३ लाख रुपैयाँ राहत हस्तान्तरण गरिएको हो । ३७ जना मृतक र बेपत्ता परिवारका २३ जना बालबालिकालाई उपलब्ध हुने राहत रकम नेपाल बैंक बुर्तिबाङ शाखामा जम्मा गरिदिएको
जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र राज पन्तले जानकारी दिए । उनका अनुसार अभिभावक गुमाएका २३ बालबालिकाको खातामा ३१ लाख पचास हजार रुपैयाँ जम्मा गरिएको छ ।
गत भाद्र १७ गतेको बाढीका कारण ढोरपाटन नगरपालिका– ८ र ९ मा २२ जनाले ज्यान गुमाएका छन् भने अझै १५ जना बेपत्ता छन् ।
त्यसैगरी, प्रदेश सरकारको तर्फदेखि प्रति मृतक परिवारलाई पचास हजार रुपैयाँका दरले राहत हस्तान्त्रण गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान स्वयम् उपस्थित भएर ढोरपाटन नगरपालिका– ७,८ र ९ का मृतक र बेपत्ता ३६ परिवारलाई प्रति परिवार पचास हजारका दरले राहत रकम हस्तान्त्रण गरिएको हो ।
त्यसैगरी, ढोरपाटन नगरपालिका–२ मा पहिरोले घर पुरिँदा ज्यान गुमाएका १ जना, निसीखोला गाउँपालिकामा चार जना र तमानखोला गाउँपालिकामा दुई जनाको परिवारलाई पनि पचास हजारका दरले राहत रकम हस्तान्तरण गरिएको छ ।
यसैगरी, ढोरपाटनको बाढीमा ज्यान गुमाएका गलकोटका एक व्यक्तिको परिवारलाई समेत प्रदेश र संघ सरकारको तर्फदेखि राहत उपलब्ध गराइएको छ ।
तस्वीर : अर्जुन ढकाल



















































































































































































































