बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले कुँडुले माविमा विधि मिचेर शिक्षक नियुक्ति प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन् । यही विषयलाई लिएर आफ्नो समेत बद्नाम गर्न खोजिएको भन्दै उनले सोमबार विज्ञप्ति जारी गरेका छन् ।
विद्यालयमा सामाजिक विषयको अस्थायी करार राहत शिक्षक पदमा नियुक्तिसम्बन्धी प्रकरणमा सञ्चारमाध्यम र राजनीतिक दलले आफ्नो बद्नाम गर्ने र स्थानीय बासिन्दामाझ भ्रम छर्ने काम गरेको उनको आरोप छ ।
वडाध्यक्ष तथा वडा शिक्षा समितिको अध्यक्षको हैसियतले जानकारी माग्दा भएका सामान्य छलफलका विषयलाई अतिरञ्जित गर्ने प्रयास गरिएको भन्दै केसीले आपत्ति जनाएका छन् ।
‘नगर शिक्षा ऐन, नियमावली र वडा शिक्षा समितिको व्यवस्था र निर्देशनविपरीत विभिन्न परिपञ्च रचेर शिक्षक नियुक्तिको काम भएकाले त्यो कुनै पनि मानेमा कानुन, विधि र प्रक्रियासम्मत छैन,’ उनले भनेका छन्, ‘नियुक्ति प्रक्रियासम्मत छ भने त्यसलाई कानुनसम्मत ढंगले प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।’
व्यवस्थापन समितिको बैठक विद्यालयमा नबसी सदस्यको घरघरमा माइन्युट डुलाई शिक्षकलाई तलब खुवाउनुपर्ने भनी भ्रममा पारेर हस्ताक्षर गराइएको केसीले आरोप लगाए । सदस्यको हैसियतमा आफूलाई जानकारी नै नगराई पत्रिकामा किर्ते विज्ञापन खडा गरी विधिविपरीत परीक्षा लिएर शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाइएको उनले विज्ञप्तिमा जनाएका छन् ।



















































































































































































































