३० बैशाख २०८२, मंगलवार

 

जन्मदिनको खर्च मानव सेवा आश्रमलाई, आचार्यले सहयोग गरे ३० हजार रुपैयाँ

रोजगारीका लागि जापान बस्दै आएका बागलुङ नगरपालिका–४ का चिन्तामणि आचार्यले आफ्नो जन्मदिनका अवसरमा बागलुङ सदरमुकामस्थित मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

तिहारको उपलक्ष्यमा आश्रममा रहेकाहरूसँग खुसी मनाउँदै उनले ३० हजार रुपैयाँ प्रदान गरेका हुन् । आश्रमका लागि आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष राजेशचन्द्र राजभण्डारीले समाजमा सहयोगी मनका धनीहरूको नजर मानव सेवा आश्रममा परेका कारण यो संस्था सहजरूपमा चलिरहेको बताए । ‘सहयोगी मनका धनी व्यक्तिहरूका कारणले मानव सेवा आश्रम सञ्चालन भइरहेको छ,’ उनले भने ।

जन्मदिनमा ठूला होटल तथा रेस्टुराँमा गरिने खर्च अहिले आश्रमलाई दिने संस्कृतिको विकास भएको स्थानीय शिवकला थापाले बताइन् ।
‘आश्रम लाई सहयोगीको खाँचो छ,’ बागलुङ उद्योग वाणिज्य संघका सदस्य विदेशकुमार श्रेष्ठ भने, ‘आचार्यले गरेको सहयोगकै कारण जापानमा अन्य सहयोगी समेत बढ्नेछन् ।’

कार्यक्रम आश्रमकी अभियन्ता सुमीरा लामाको सञ्चालनमा भएको थियो । आश्रममा ४० जना महिला, अपांगता भएका, ज्येष्ठ नागरिक र बालबालिकाले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung