ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य हरि–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् ।स्तम्भ लेखन तर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदी पनि पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङका भवन उद्घाटनका क्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र हरि–लक्ष्मी नारायणप्रसाद पत्रकारीता पुरस्कार स्मृति कोषका संस्थापक तथा संरक्षक तीर्थप्रसाद श्रेष्ठले पत्रकारहरु तारानाथ आचार्य र रामनारायणलाई सुवेदी जनही नगद १५ हजार रुपैयाँ, प्रसंसापत्र र दोसल्ला ओडाएर पुरस्कार वितरण गरेका थिए ।
व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालमा बागलुङ शाखामार्फत स्थापना गरेको ५ लाख रूपैयाँ राशिको ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति’ पत्रकारिता पुरस्कार दुई जना पत्रकार पुरस्कृत भएको हो ।
बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालदेखि समाचार,स्तम्भ लेखन र पत्रकारिता तालिम दिने उदेश्यले कोष स्थापना भएको कोषका संस्थापक सदस्य मनोविज्ञान श्रेष्ठले नयाँ विश्वलाई बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष मुकेशचन्द राजभण्डारी, गलकोट नगरपालिकाका मेयर भरतप्रसाद शर्मा, काठेखोला गाउँपालिकाको अध्यक्ष अमर थापा, नेकपा केन्द्रीय सदस्य बलावती शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पाैडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष,बागलुङ शाखाका कोषाध्यक्ष विजय रानालगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षतामा भएको कार्याक्रममा स्वागत उपाध्यक्ष नरेश कँडेलले र संचालन सचिव राम थापाले गरेको थियो ।
तस्वीर : सुवाश गौतम



















































































































































































































