बागलुङको निसीखोला गाउँपालिकाले भौतिक पूर्वाधारमा फड्को मार्दै गएको छ । गत वर्ष टहरो हालेर सेवालाई निरन्तरता दिएको पालिकाले अहिले डेढ करोड लागतमा पक्की भवन बनाइरहेको छ ।
प्रदेश सरकार र गाउँपालिकाको बजेटमा निर्माण हुँदै गरेको भवन एक सभाहलसहित ७ कोठाको हुने गाउँपालिकाले जनाएको छ । आगामी फागुन महिनासम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम अगाडि बढाइरहेको छ ।
गण्डकी प्रदेश सरकारको एक करोड र निसीखोला गाउँपालिकाको पचास लाख गरी डेढ करोड लागतमा भवन निर्माण हुन थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । गाउँपालिकाले थप सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने तयारी रहेको उनको भनाइ छ । भवन निर्माणका लागि दाताले जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
सबै वडामा कार्यालय भवन बन्दै
यससँगै पालिकाले सबै वडामा कार्यालय भवन बनाइरहेको छ । नागरिकलाई सहज सेवा दिने गरी भवन नभएका वडामा निर्माण अघि बढाइएको बताइएको छ । वडा नम्बर १ मा साबिक गाविस भवनबाटै सेवा दिइएको छ । उक्त भवन पहिल्यै बनेकाले त्यसैबाट सेवा प्रवाह भइरहेको वडाध्यक्ष इन्द्र मल्लले बताए ।
वडा नम्बर २ को भवन अन्तिम चरणमा छ । केही समयमै सोही भवनबाट सेवा प्रवाह गरिने वडाध्यक्ष कुविर विश्वकर्माले बताए । हालसम्म उक्त वडा
कार्यालय भाडाको घरमा छ ।
वडा नम्बर ३ र ४ ले साबिकको गाविस भवनबाट सेवा दिइरहेकामा वडा नम्बर ३ मा संघ सरकारमार्फत भवन निर्माणको तयारी भइरहेको छ । वडा नम्बर ४ को भवनका निम्ति जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढेकाले यस आर्थिक वर्षमा निर्माण सुरु हुने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।
वडा नम्बर ५ पनि भाडाको घरबाट आफ्नै भवनमा सरिसकेको छ । तीन महिनादेखि आफ्नै भवनबाट सेवा दिन थालिएको वडाध्यक्ष हर्कमान घर्ती मगरले बताए ।
वडा नम्बर ६ हालसम्म भाडाको घरमा छ । वडा नम्बर ७ ले साबिकको गाविस भवनबाट सेवा दिइरहेको वडाध्यक्ष नहकुल कुँवरले जानकारी दिए ।
स्वास्थ्य क्षेत्र पनि सुधार
गाउँपालिकाले एक वडा एक स्वास्थ्य चौकी कार्यक्रमलाई अगाडि बढाएको छ । यसअन्तर्गत वडा नम्बर १ देवीस्थानमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन बनिसकेको छ । उक्त भवनबाट सेवा प्रवाह नभए पनि निर्माण सम्पन्न भइसकेको वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।
वडा नम्बर ३ मा बोहोरागाउँ स्वास्थ्य चौकीबाट सेवा दिइएको छ । वडा नम्बर ५ मा जग्गा व्यवस्थापन भइरहेको तथा वडा नम्बर ६ र ७ मा भवन निर्माणको काम अन्तिम चरणमा रहेका कारण ठेकेदार कम्पनीले चाँडै हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ ।
वडा नम्बर २ र ४ मा भने वडास्तरको स्वास्थ्य चौकी निर्माण हुन बाँकी छ । १५ शय्याको पालिकास्तरीय अस्पताल निर्माणका निम्ति संघ सरकारमार्फत कार्यक्रम ल्याइएकोमा यस वर्षदेखि वडा नम्बर ४ मा अस्पताल निर्माण सुरु हुनेछ । यसका लागि गत मंसिर महिनामा शिलान्याससमेत गरी सकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।
जनताको महत्त्वपूर्ण आवश्यकताका रूपमा रहेका स्वास्थ्य, शिक्षा, यातायातजस्ता विकासका पूर्वाधारमा निसीखोला गाउँपालिकाले गति लिइरहेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए । ‘आर्थिक वर्ष २०७७÷७८ का विकास योजना र कार्यक्रम सम्झौतासँगै निर्माण चरणमा अगाडि बढेको छ,’ उनले भने, ‘गाउँपालिकाले विकासका विभिन्न सूचकांकलाई समेटेर काम गरिरहेको छ ।’
गत वर्ष कोभिड–१९ का कारण प्रदेश र स्थानीय पालिकाको साझेदारीमा निर्माण रोकिएका सात झोलुंगे पुलसमेत यस आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको शाक्यको भनाइ छ ।
गाउँ जोड्न झोलुंगे पुल
गत वर्ष प्रदेश सरकार र निसीखोला गाउँपालिकाको साझेदारीमा अघि बढाइएका ७ झोलुंगे पुलमध्ये हाल निसीखोला ५ र ६ मा गरी ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । अन्य चारवटा पुलको निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।
तीमध्ये निसीखोला–१ र ढोरपाटन नगरपालिका–२ जोड्ने माडेघाट पुल, वडा नम्बर ७ कुतखोला घाट पुल, वडा नम्बर २ ढुवाँखोर र धौलेघाट पुल गरी चारवटा पुल यस वर्ष बन्न लागेका हुन् ।
पालिकामा दुईवटा पुराना झोलुुंगे पुल जीर्ण रहेकाले तिनको व्यवस्थापनका निम्ति योजना अगाडि बढाइने पालिका अध्यक्ष पौडेलको भनाइ छ । उनका अनुसार मध्यपहाडी लोकमार्गले वडा नम्बर १ देखि ६ सम्म छोएको गाउँपालिकाको ग्रामीण क्षेत्रका सडकलाई समेत प्राथमिकतामा राखेर पालिका र प्रदेश सरकारमार्फत काम भइरहेको छ ।



















































































































































































































