४ जेष्ठ २०८१, शुक्रबार

 

ज्येष्ठ नागरिकलाई न्यानो कपडा दिँदै सीईओ शेरचनले भने, ‘यो हाम्रो माया हो’

नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमले बागलुङका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नयाँ विश्वले आइतबार एक सय जनालाई न्यानो कपडा उपलब्ध गराएको हो ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जाडोमा न्यानो कपडा आवश्यकता भए पनि ज्येष्ठ नागरिकका लागि यस्तो सम्मान न्यानो मायासमेत भएको बताए ।

‘समाजका ज्येष्ठ नागरिकलाई दिइएको न्यानो कपडा हाम्रो माया हो, अरू कुनै स्वार्थ छैन,’ उनले भने, ‘ज्येष्ठ नागरिककै माया र सद्भावका कारण हामी आज विकासको यो चरणसम्म आइपुगेका छौं । हाम्रा अभिभावकले कठिन कालखण्डमा हामीलाई कठोर तपस्या गरेर नहुर्काएको भए आज यो उचाइमा प्रगति सम्भव थिएन ।’

बागलुङमा जन्मिएकाले यहाँका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने जिम्मेवारी पनि आफूहरूको भएको जनाउँदै उनले सहयोगका अन्य कार्यक्रम पनि सञ्चालन गर्ने बताए । उनले बागलुङलाई केन्द्रमा राखेर खेलकुद, साहित्य, व्यापार, ऊर्जा र पर्यटनको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागलुङलाई चिनाउन खेल तथा वाणिज्य क्षेत्रका विज्ञसँग सल्लाह गरिरहेको जनाउँदै उनले आउँदो माघमा बागलुङ रन म्याराथन कार्यक्रमको तयारी भइरहेको सुनाए ।

‘बागलुङ र धौलागिरिमा बर्सेनि राष्ट्रिय स्तरको कार्यक्रम हुनुपर्ने देखिन्छ, त्यसका लागि विभिन्न क्षेत्रमा आबद्ध मानिससँग सल्लाह गरेर त्यो काम चाँडै थाल्छौं,’ उनले भने ।

प्रमुख अतिथि सिईओ अशोक शेरचनले जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीलाई  न्यायो कपडा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले धौलागिरि क्षेत्रको समग्र विकासका लागि निजामती प्रशासनका तर्फबाट सहयोग गर्न आफू तयार रहेको बताए । ‘जिम्मेवारीका हिसाबले अहिले यहाँ छु,’ उनले भने, ‘मलाई यहाँको जनता र सिर्जनशील युवाहरूको सामथ्र्यमाथि विश्वास छ ।’

नयाँ विश्व डटकमका उपाध्यक्ष तथा विद्यामन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले सञ्चारमाध्यमे शक्तिशाली मान्छेको मात्र नभई सर्वसाधारणहरूको पनि आवाज बन्नुपर्ने बताए ।

‘नयाँ विश्वलाई जनताको भरपर्दो सञ्चारमाध्यमका रूपमा विकास गर्ने हुटहुटी र यसलाई राष्ट्रिय सञ्चारमाध्यम बनाउने तीव्र आकांक्षाका साथ हामीले बागलुङबाट काठमाडौं लगेका हौं,’ उनले भने, ‘यो साझा सपना सबैको सहयोगले पूरा हुने बाटोमा उन्मुख रहेको छ ।’

नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठले पुर्खाहरूले बागलुङमा तीन–चार सय वर्षअघिदेखि नै विभिन्न क्षेत्रमा विकासका सपनालाई अगाडि बढाएको बताए ।

‘हाम्रो लालनपालन र शिक्षादीक्षा सही ढंगले नभएको भए यो स्तरमा प्रगति सम्भव थिएन, अभिभावकले उपयुक्त वातावरण दिएकैले आज हामी समाजलाई केही दिन सक्ने भएका छौं,’ उनले भने । तर, आज पनि ज्येष्ठ नागरिकहरू असहाय र कमजोर हालतमा रहेकाले उनीहरूको मनोबल उच्च बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए ।

यसका लागि नयाँ सन्ततिहरूमा ज्येष्ठ नागरिकप्रति दायित्व र ममताको भावना जगाउनुपर्ने बेला आएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिक संघका सल्लाहकार देवबहादुर श्रेष्ठले समाज र राज्यले ज्येष्ठ नागरिकलाई उच्च महत्त्वसाथ स्वास्थ्य र स्याहार–सुसारमा ध्यान दिनुपर्ने बताए ।

न्यानो लुगा वितरणका लागि इनरह्विल क्लबकी अध्यक्ष सोनी श्रेष्ठ, कोषाध्यक्ष कल्पना राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ बागलुङका अध्यक्ष दयाराम पौडेल, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लक्ष्मी श्रेष्ठ, लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष जयराम भारी, महिला हित सहकारीकी अध्यक्ष लीलादेवी खड्का, सीवाईसी सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा, सृष्टि फर्निचरकी सञ्चालक सरिता गौतम, नेपाल भाषा मंका खलका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठ, शिवशक्ति अटो मोबाइलका सञ्चालक शिव साह, भारी ग्लास हाउसका सञ्चालक राजेश भारी, श्रीकृष्ण मेडिको कन्सर्नका अनुपकुमार श्रेष्ठ, सन्ध्या क्रियसनकी सञ्चालक सन्ध्या राजभण्डारी, जनप्रिय टेलर्स, कालिका हार्डवेयरका सञ्चालक चूडामणि सापकोटा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र नयाँ विश्व डटकमले समेत आर्थिक सहयोग गरेका थियो ।

कार्यक्रम नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्