नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजन नभएपनि अनौपचारिक रुपमा भने पार्टी टुक्रिइसकेको छ । यसको असर केन्द्रीय, जिल्ला र स्थानीय तहमा मात्रै होइन विदेशमा बस्ने नेपालीहरुमा समेत देखिन थालेको छ ।
जसको पछिल्लो उदाहरण हो – ‘प्रवासी नेपाली एकता मञ्च’ । नेपालमा रहेका विभिन्न कमिटी र नेतृत्व विभाजनसँगै जापानको प्रवासी मञ्च पनि विभाजित भएको हो ।
पुनर्गठित कमिटिको अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कंडेल सहित ३५ सदस्य कमिटी निर्माण गरिएको कमिटीका सदस्य अर्जुन आचार्यले जानकारी दिए । ओली पक्षबाट जारी गरिएको विज्ञप्तिमा २०७७ पुस ५ गतेका दिन नेपाल सरकारले चालेको लोकतान्त्रिक अभ्यास मार्फत ताजा जनादेशमा जाने कदमको प्रवाशी नेपाली एकता मञ्च जापान हार्दिक स्वागत गर्दछ भनिएको छ।
आफूहरुको संस्था मुलधारको भएकोले विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरु तथा शुभचिन्तक, समर्थकहरुलाई मुल प्रवाहमा गोलबन्द भई ‘सुखी नेपाली समृद्द नेपालको’ अभियानमा जुट्नको लागी अध्यक्ष सुरेश केसीले अनुरोध गरेका छन्।
मञ्चका सचिव डा. सरोज कँडेलले लोभी पापीका कारण नेकपाका केही मात्र चोइटिएर गएको बताउँदै निर्वाचनमा परिणाम देख्न सकिने बताएका छन्।


















































































































































































