अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको सात रोपनी जमिनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ ।
कृषि–बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारीको मिलेमतोमा समितिको खातामा रहेको १४ लाख ४४ हजार १९९ रकममध्ये १४ लाख ३८ हजार ५ सय रुपैयाँ आफूखुसी झिकेर हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले समितिका अध्यक्ष र कोषाध्यक्षसहित कृषि बजारको लेखापरीक्षणले गलत प्रतिवेदन दिएको भन्दै कारबाहीको माग गरेको छ ।
अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीविरुद्ध १४ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बिगो कायम गरिएको छ । गलत लेखापरीक्षण प्रतिवेदन दिने एचके अधिकारी एन्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरिएको छ ।













































































































































































































