१६ कार्तिक २०८३, आईतवार

 

स्रोत र साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकास र संमृद्धिको यात्रामा पछि परेको बताएका छन् ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६ औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोेत र साधन हुँदाहुँदै पनि देश विकास र संमृद्धिको यात्रामा पछाडि परेको बताएका हुन् ।

‘हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्रोत र साधन छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनाैं। यी उपलब्ध स्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र संमृद्धि असम्भव छैन । यसका लागि राज्य र नीजि क्षेत्रबीच सहकार्य जरुरी हुन्छ’ उनले भने ।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने दोहोराए ।

‘हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईं स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पूरा गनेर्छौं । तपाईंहरुले भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौं’ उनले भने ।

नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै ढकालले नीजि क्षेत्र व्यवसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

नीजि क्षेत्रलाई सरकारको विकासको साझेदारको रुपमा हेर्ने दृष्टिकोणले आफूहरुलाई हौसला मिलेको बताए ।

‘नीजि क्षेत्रलाई विकासको साझेदारको रूपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ’, उनले भने, ‘सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौं । यसले मात्र हामीलाई विकास र संमृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्छ । ’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung