१९ भाद्र २०८३, शुक्रबार

 

भैरहवामा थपिँदै उद्योग, पूर्वाधार भने कमजोर

पछिल्लो समय आर्थिक नगरीको रूपमा तीव्र विकास भएको क्षेत्र हो– बुटवल–भैरहवा । खासगरी, भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाए पछि बुटवल–भैरहवा क्षेत्रले आर्थिक रूपमा फड्को मारेको हो ।

नेपालमा संविधान जारी भएपछि त्यसमाथि असहमति जनाउँदै भारतले आर्थिक नाकाबन्दी लगाएपछि वीरगन्जमा भएका उद्योगहरू गम्भीर संकटमा परे । कच्चा पदार्थ आयातमा रोक लगाउँदा उद्योगमा महिनौंसम्म ताल्चा लाग्यो । वीरगन्जमा दैनिकजसो हुने बन्द–हड्ताल र आतंकले प्रताडित बनेका उद्योगीले नयाँ आर्थिक गन्तव्यका रूपमा भैरहवा–बुटवल क्षेत्रलाई रोजे । एकातिर वीरगन्जमा छोइनसक्नु जग्गाको मूल्य र बारम्बार भइरहने आन्दोलनबाट आजित बनेका उद्योगीलाई लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र बन्यो भैरहवा । नाकाबन्दी ताका भैरहवा क्षेत्र देशको लाइफलाइनको रूपमा समेत परिचित थियो ।

अन्यत्रका सबै नाका ठप्प हुँदा भैरहवाबाट त्यहाँका उद्योगीको पहलमा नाकालाई निर्बाध रूपमा चलाएर देशको आवश्यकता पूर्ति गरिएको थियो । त्यही देखेर उद्योगीले वीरगन्जलाई छाडेर भैरहवामा आफ्ना उद्योगलाई सिफ्ट गर्ने सोच बनाए । भैरहवाबाट कच्चा पदार्थ तथा तयारी वस्तु आयात गर्न कुनै बाधा–अड्चन छैन । त्यस कारणले पनि उद्योगी भैरहवामा आकर्षित भएका हुन् ।

उद्योग स्थापना गर्न सबैभन्दा पहिले आवश्यक हुन्छ– जग्गा । भैरहवा आर्थिक नगरीको रूपमा स्थापित नभइसकेकाले त्यहाँको जग्गाको मूल्य अन्यत्रको तुलनामा सस्तो छ। भैरहवाबाट पूर्व–पश्चिम तथा देशका सबै क्षेत्रमा उत्पादन लैजान पनि सहज । त्यही भएर हरेक उद्योगीको पहिलो रोजाइ बन्न थाल्यो भैरहवा क्षेत्र ।

विराटनगर, वीरगन्जको तुलनामा भैरहवा अत्यन्तै शान्त ठाउँ हो । भैरहवा–बुटवल क्षेत्रमा पहाडिया र तराईमा बसोबास गर्नेहरू समान छन् । सबैतिरबाट बसाइँ–सराइ गरेर आएकाहरूको बाहुल्य छ । भारतसँगको नाका जोडिएको महत्त्वपूर्ण औद्योगिक क्षेत्रका रूपमा भैरहवा मानिन्छ । त्यहाँ सिमेन्ट, डन्डी, स्टिल, इँटा, खाद्य, जुत्तारचप्पल तथा तयारी वस्तुलगायतका साना तथा ठूला उद्योग सञ्चालनमा छन् । केही थपिँदै छन् पनि । भैरहवामा पनि नयाँ उद्योग खुल्ने क्रम बढिरहेको छ ।

अर्थतन्त्रलाई चलायमान् बनाउन महत्त्वपूर्ण योगदान गर्दै आएको भैरहवा क्षेत्र आर्थिक पूर्वाधार निर्माणमा भने अत्यन्तै कमजोर मानिन्छ । वीरगन्जपछि सबैभन्दा बढी राजस्वमा योगदान गर्नेमा भैरहवा पर्छ । तर, आर्थिक पूर्वाधार निर्माण गर्ने हिसाबले राज्यको प्राथमिकतामै पर्दैन । आर्थिक पूर्वाधारको अभाव हुँदा अहिले पनि त्यहाँका उद्योगीले कैयौं दुःखकष्ट भोग्नुपरेको छ । अहिलेसम्म भैरहवामा एकीकृत जाँच चौकी  (आईसीपी) छैन । पर्याप्त बिजुलीको अभाव छ । मागेजति बिजुली पाउन सकेका छैनन् । विद्युत् नपाउने समस्या त छँदै छ, पाएको बिजुली पनि गुणस्तरीय छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung